लन्डन। साउथ इष्ट लन्डनको एशिएन कम्युनिटी सेन्टरमा आगामी अक्टोबर २३ तारिख दशैं-तिहार शुभकामना कार्यक्रम आयोजना हुने भएको छ। दशैं, तिहारसहितका सम्पूर्ण नेपाली पर्वहरुको उपलक्ष्यमा रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को आयोजनामा कार्यक्रम हुने भएको हो ।अपरान्ह ५ देखि राती १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने प्रवक्ता सुरेन्द्र रुपाखेतीले बताए । राष्ट्रीय तथा स्थानीय कलाकारका गीत, नृत्य सहितका प्रस्तुतिसंगै डिजे डान्सको मनोरन्जन पनि कार्यक्रममा लिन सकिनेछ।
कार्यक्रममा स्थानीय नेपालीको सहभागिता अपेक्षा गरिएको आयोजक आरजीएनएसले बतायो। कार्यक्रममा स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर, काउन्सिलरहरुसहित लन्डनस्थित नेपाली दूतावास,बेलायतका अन्य क्षेत्रस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई पनि अतिथिका रुपमा निमन्त्रणा गरिएको छ । कार्यक्रमको संयोजन सल्लाहकार एलएन पाण्डे र तमुधिं साउथ इष्ट रिजनल अध्यक्ष ह्यारी गुरुङले गर्दैछन्। आर्थिक संयोजन आरजीएनएस सल्लाहकारद्वय मोहन गुरुङ र राजन खकुरालले गरिरहेका छन्।
आरजीएनएसको आयोजनामा यही आइतबार अक्टोबर २३ मा एसियन कम्युनिटी सेन्टर प्लमस्टिडमा हुने दशैंतिहार शुभकामना कार्यक्रममा अवार्ड वितरण गरिने भएको हो।आरजीएनएस अध्यक्ष काउन्सिलर जीत रानाभाटले विभिन्न तीन विधाको अवार्डमार्फत् समुदायमा योगदान पुर्याउनेहरुलाई प्रोत्साहन गर्न लागिएको बताए। कल्चरल अवार्ड, कम्युनिटी इन्टिग्रेसन अवार्ड र भोलुन्टियर सर्भिस अवार्ड प्रदान गरिने उनले जानकारी दिए ।
त्यस्तै, सामुदायिक इन्टिग्रेसनमा योगदान पुर्याउने संस्थालाई कम्युनिटी इन्टिग्रेसन अवार्ड र स्वयमसेवामार्फत् समुदायमा योगदान गर्ने एक अभियन्तालाई भोलुन्टियर सर्भिस अवार्ड प्रदान गरिनेछ।
अवार्ड विजेता चयनका लागि समाजका विभिन्न क्षेत्रमा अनुभवी र विज्ञहरुको सहभागितामा पाँच सदस्यीय निर्णायक मन्डल बनाइएको अध्यक्ष रानाभाटले जनाए। विभिन्न ढंगबाट समुदायको सेवामा खटिने समाजसेवीहरुको हौसला बढाउने अवार्डको लक्ष्य रहेको उनको भनाइ छ।
कार्यक्रममा नेपालबाट आएका हास्यकलाकारद्वय राजु मास्टर र बल्छी ध्रुवेका साथै नेपाल आइडल -४ विजेता भूपेन्द्र थापा र गायक प्रकाश कटुवालको विशेष प्रस्तुति रहनेछ । साथमा दीपक गौतम, सुनिता गौतम, प्रसुना कंडेलसहितका स्थानीय कलाकारले पनि प्रस्तुति रहने छ ।






