काठमाडौँ । दशकअघिको चर्चित बलिउड फिल्म ‘डर्टी पिक्चर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । विद्या बालनको मुख्य भूमिका रहेको फिल्म महिला र महिला केन्द्रित कथावस्तुमा बनेको हो । चर्चाको शिखरमा पुगेकी फिल्म नायिकाको पतनको कथा यसले पेश गर्छ ।
बलिउडमा महिला प्रधान फिल्म दर्शकले हेर्दैनन् भन्ने धारणा रहेको बेला रिलिज भएको एकता कपुरले निर्माण गरेको फिल्मले ८० करोड नेट कलेक्सनको लोभलाग्दो कमाई यसले गरेको थियो । बलिउड संचारमाध्यमका अनुसार ११ वर्षपछि बालाजी फिल्मले सिक्वेल बनाउन लागेको हो ।
पटकथा लेखक कनिका ढिल्लोनले अहिले फिल्मको कथा लेखिरहेकी छिन् । उनले यसअघि ‘मनमर्जियाँ’, ‘हसिन दिलरुबा’, ‘रश्मिरकेट’ आदि फिल्म लेखेकी छिन् । एकता कपुरले फिल्म बनाउने तयारी गरेसँगै बलिउड अभिनेत्रीहरु यो फिल्म खेल्ने इच्छासहित सम्पर्कमा पुगेको खबर छ ।
नायिकाद्धय तापसी पन्नू र कृति सेननले फिल्म खेल्ने इच्छा व्यक्त गरेका छन् । यसअघि एकताले कंगना रनावतलाई यो फिल्म खेल्ने प्रस्ताव गरेकी थिइन् । तर, इमेजलाई असर पर्न सक्ने भन्दै उनले फिल्म खेल्न अस्वीकार गरेको जनाइएको छ ।
मिलन लुथरियाले निर्देशन गरेको पहिलो भाग दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनमा आधारित थियो । प्रसिद्धीको शिखरमा पुगेको बेला ‘सेक्स साइरन’ उपमानले चर्चित सिल्कले उत्तरद्र्धामा एक्लो जीवन बिताउनु परेको थियो । विद्या बालनले डर्टी पिक्चरको पहिलो श्रृंखलाबाट राष्ट्रिय पुरस्कार पनि जितेकी थिइन् ।






