दुई दिनदेखिको बर्षाले ठाउँठाउँमा क्षति : कयौँ घर डुबानमा

जनकपुर । दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् ।

पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए । अधिकांश घरमा पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । पानी निकासको समस्या समाधान नहुँदा बर्सेनि डुबानको समस्या हुने गरेको छ ।

वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, आन्तरिक राजस्व, हुलाकलगायत सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।

बजार डुबानमा परेपछि व्यापार व्यवसाय चौपट भएको छ । अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ ।

कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासीलाई सचेत हुन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले आग्रह गरेका छन् ।

यता हिजो बिहानैदेखि भएको वर्षाका कारण मोरङको जनजीवन प्रभावित भएको छ । झापाको १ सय ९४ घरपरिवारका ८ सय ५४ जना बाढी र डुवानका कारण विस्थापित भएका छन् ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्लाको गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका बढी प्रभावित बनेको बताए ।

त्यस्तै लगातार परेको वर्षाका कारण खोलामा आएको बाढीमापरि मोरङको सुन्दर हरैचामा एक जनाको मृत्युु भएको छ । सुन्दरहैचा वडा नं. ६ गछिया खोलाले बगाएर सोही ठाँउका ५८ वर्षका रामबहादुर बिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

वर्षाका कारण विराटनगर महानगरपालिका सहित मोरङका ३२ सय परिवार विस्थापित भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।