साइत जुराएर मतदान गरे बालेन साहले-भन्छन हाम्रो अवस्था एकदमै राम्रो छ

काठमाडौं । महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र साह (बालेन साह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजेर ३ मिनेट उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।

अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन् । काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धाले यसअघि नै मतदान गरिसकेका छन् । उनले भने बिहान ११ बजेको समयमा मतदान गरेका हुन् । मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूसँग उनले कुराकानी समेत गरेका थिए ।

उनी बिहानैदेखि विभिन्न मतदान केन्द्रको अवलोकनका लागि निस्किएका थिए । उनले सुरूमा बिहानै बसन्तपुर मतदान केन्द्रको अवलोकन गरेका थिए । त्यसपछि उनी महानगरभित्रका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका थिए । विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनी मतदान गर्न पुगेका हुन् ।

उनले ११ बजेको साइत जुराएर मतदान गरेका हुन् । उनले ११ : ०३ बजे मतदान गरेका थिए । ‘सुरुमा हाम्रो स्थिति कस्तो छ भनेर हेर्न खोजेका थिए । हाम्रो स्थित एकदमै राम्रो छ । त्यसपछि म भोट हाल्न आए,’ साहले भने ।

विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनले आफ्नो जीत सुनिश्चित भएको उनको भनाइ छ । काठमाडौंमा कुनै प्रकारको चुनौती नरहेको भन्दै अहिलेसम्म काम गर्ने मान्छे नभएको बताए । ‘काठमाडौंमा केही पनि चुनौती छैन । काम गर्ने मान्छे नभएर अहिलेसम्म समस्या भएको हो । हामी जितेर आएपछि काम गर्छौ,’ साहले भने ।