काठमाडौं, १६ जेष्ठ। फिफा अध्यक्ष जोसेफ सेप ब्लाटर पाँचौ कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । स्विट्जरल्याण्डको ज्युरिचमा शुक्रबार राती भएको पहिलो चरणको मतदानमा दुई तिहाई मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुनुपर्ने अवस्था आयो । तर दोस्रो चरणको मतदान पुर्व ब्लाटरका एकमात्र प्रतिस्पर्धी जोर्डनका युवराज अली बिन अल हुसैनले नाम फिर्ता लिएपछि ब्लाटर पाँचौ कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् ।
पहिलो चरणको मतदानमा ब्लाटरले १ सय ३३ मत ल्याएका थिएभने हुसैनले ७३ मत ल्यानएका थिए । दुई तिहाई बहुमतको लागि १ सय ४० भोट आवश्यक थियो । विजयी भएपछि ब्लाटरले आफु सबैको अध्यक्ष भएको भन्दै फिफालाई एकता, पारदर्शिता र विश्वव्यापी सम्मानका साथ अघि बढाउने बताए । आफुले बलियो फिफा बनाउन चाहेको उल्लेख गर्दै ब्लाटरले विश्व फुटबलबाट आर्थीक अनियमितता र जालझेल हटाएर छाड्ने प्रतिवद्धता व्यक्त गरे । पराजित उम्मेदवार हुसैनले भने आफुलाई भोट हाल्ने हिम्मत गर्ने सबैलाई धन्यवाद दिए ।
ब्लाटर फिफा अध्यक्षमा निर्वाचित भएपनि उनको अगाडि निकै धेरै चुनौती छन् । युरोपेली फुटबल महासंघ युएफाले केही दिनभित्रै विशेष साधारणसभाको माग गर्नसक्ने बताइएको छ । फिफाका २० प्रतिशत सदस्य रुाष्ट्रहरुले आग्रह गरेको खण्डमा तीन महिनाभित्र विशेष साधारणसभा बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । यसरी विशेष साधारणसभा बोलाईएको खण्डमा ब्लाटर विरुद्ध अविश्वाशको प्रस्ताव आउनसक्छ ।
उता निर्वाचनको केही दिन अघि दुई उपाध्यक्षसहित फिफाका ७ जना उच्च अधिकारीहरु घुसखोरीको आरोपमा पक्राउ परेपछि फिफा अध्यक्ष ब्लाटरमाथि नैतिक दबाब पनि बढिरहेको छ । स्विट्जरल्याण्ड प्रहरीले सन् २०१८ र २०२२ को विश्वकप आयोजनाको जिम्मेवारी क्रमशः रुस र कतारलाई दिंदा आर्थीक चलखेल भएको हुनसक्ने भन्दै दोस्रो पटक छानविन अघि बढाएको छ ।
यसैगरी अमेरिकी न्याय विभागले पनि फिफाका ११ सहित कुल १४ जनामाथि सम्पत्ती सुद्धिकरण, घुसखोरी लगायतका अपराधमा मुद्दा चलाइरहेको छ । सन् १९९८ देखि फिफा अध्यक्षको पद समाल्दै आएका ब्लाटरको आगामी चार वर्षे कार्यकाल भने सहज नहुने देखिएको छ ।
फिफा अध्यक्षमा सेप ब्लाटर पाँचौ कार्यकालको लागि निर्वाचित






