नेपालको अर्थतन्त्र खस्कदै, वैदेशिक मुद्रा सञ्चिति नसुधारे अवस्था गम्भीर

काठमाण्डौ । ७ वर्ष पहिले कुल ग्राहस्थ उत्पादनको जम्मा २५ प्रतिशत कुल तिर्नुपर्ने आन्तरिक ऋण रहेकोमा हाल बढेर झण्डै ४० प्रतिशत पगेको छ ।

यता वैदेशिक ऋण पनि करिब ६० प्रतिशत पुगेको छ, यसले नेपाली जनता माथि ऋण निकै बढेको देखिन्छ । दैनिक वैदेशिक व्यापार घाटा पनि ६ अर्ब नाघेको छ ।

नेपालमा अहिले मुलतः तरलता, वैदेशिक मुद्रा सञ्चिति र स्रोत उपयोगको अभाव रहेको अर्थविद डा. चन्द्रमणी अधिकारी बताउँछन् । सरकारले समस्याको समाधान गर्न भन्दै साताको दूईदिन सार्वजनिक विदा दिने र यातायातमा जोर विजोर प्रणाली लागु गर्ने प्रस्ताव गरेको छ ।

तर, यो समस्याको समाधान नभएको उनको दाबी छ । नेपालको राजस्व घट्दो अवस्थामा छ भने कृषिबाहेकको उत्पादन करिब शून्य जस्तै छ । पर्यटनको उच्च सम्भावना रहेकाले कोरोना कम भएपछि पर्यटन आवागमन वृद्धि गर्नुपर्ने भट्टराईको सुझाव छ ।

कुल गार्हस्थ उत्पादनको २ प्रतिशतभन्दा बढी आन्तरिक ऋण नलिने नेपालको नीति थियो । तर, अहिले ६ प्रतिशत आन्तरिक ऋण लिने घोषणा गरिएको छ । जसले बजेट कार्यान्वयनमै समस्या हुने देखिन्छ ।

उत्पादनको गुणस्तर बढाउन नीतिगत तथा संरचनागत व्यवस्था गर्ने, निर्यातमा सहजीकरण गर्नेदेखि आयात घटाउने गरी नेपालमै उत्पादन हुनसक्ने वस्तुको प्रयोग बढाउन विज्ञहरु सुझाउँछन् ।