दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना

रामेछाप । रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरमा एक दलित बालिकालाई २१ घण्टासम्म बाँधेर यातना दिइएको छ ।

स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया सरिता नेपालीले घरभित्र पसेर दही चोरेर खाएको निहुँ यातना दिइएको हो ।

यातना दिने स्थानीय ६३ वर्षका शेरबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार श्रेष्ठले दलित भएर घरभित्र छिरेको भन्दै बालिकालाई हात र कम्मरमा डोरीले बाँधेर कुटपिट गरेका थिए ।

बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्यान्न १२ बजेसम्म यसरी बाँधेर राखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डीएसपी राजकुमार थिङले जानकारी दिए ।

पिडक शेरबहादुर श्रेष्ठले आरोप स्वीकारेका छन् । प्रहरीका अनुसार उनले उल्टै पीडित बालिकाको परिवारले आफ्नो घरमा चोखोनितोका लागि रुद्री लगाउने खर्च व्यहोर्नुपर्नेसमेत मागसमेत गरेका छन् ।

बालिकालाई बाँधेर राखेको थाहा पाएपछि तत्काल मुक्त गर्न आग्रह गर्दा नमानेको वडा नम्बर ६ का वडा अध्यक्ष गोपालबहादुर माझीले जानकारी दिए ।  मंगलबार मध्यान्ह १२ बजे प्रहरी पुगेर पीडित बालिकाको उद्दार गरेको नगर कार्यपालिका सदस्य उद्धव रम्तेलले जानकारी दिए ।