बेलायतका लागि नवनियुक्त नेपाली राजदुत आचार्यले कार्यभार सम्हाले

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पदबहाली ग्रहण गरेका छन् । बुधवार विहान लण्डन पुगेका राजदुत आचार्यले २२ औँ राजदुतको रुपमा लन्डनस्थित नेपाली दूतावासको कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै आचार्यले आफ्नो भावी योजनाका विषयमा छलफल समेत गरेका छन् । छलफलका क्रममा आचार्यले नेपाल र बेलायतबीचको द्धिपक्षीय,राजनीतिक,आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझै सुदृढ बनाउने र गैह्र आवासीय नेपाली नागरिकहरुसगंको सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै भूतपूर्व ब्रिटिस गोर्खाहरुको समस्या समाधानको विषय आफ्नो प्रमुख प्राथमिकतामा रहेको भन्दै उनले व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनलगायत आर्थिक कुटनीतिका क्षेत्रमा राजदुतावासको भुमिकालाई अझ प्रभावकारी बनाउन राजदुतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोक्ने पनि बताएका छन् ।

राजदुत आचार्यलाई बेलायतका परराष्ट्र मन्त्रीका विशेष प्रतिनिधि माईकल जोन होलोवे, राजदुतावासका उपनियोग प्रमुख, सैनिक सहचारी लगायत राजदुतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ १४ गते आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् ।