क्रिप्टो,बिट क्वाईन खेल्न प्रोत्साहन गर्ने गराउने ३ नेपाली पक्राउ

काठमाडौं । राष्ट्र बैंकको नीति नियम विपरित अबैद्य क्रिप्टो करेन्सीमा संलग्न तीन जना व्यक्तिहरु पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी/बीटीसी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा अपराध महाशाखाले बिहिबार दिउँसो काठमाडौंको मिनभवनबाट राजन भट्टराई बिशाल श्रेष्ठ र दिपेनराज श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ अभियुक्तहरु माथी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको महाशाखाले जानकारि दिएको छ । पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २ लाख ६० हजार कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपालमा Crypto Currency को कारोबार गर्ने गराउने कार्य गैह्रकानुनी मानिन्छ । यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन प्रहरीले सबैलाई आह्वान समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले  क्रिप्टो करेन्सी वा माइनिङलाई अवैद्य घोषणा गरेको छ । बैंकले विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ ले व्यवस्था गरेको कानुनी प्रावधानअनुसार क्रिप्टो करेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकाले यसको कारोबार, प्रयोग र माइनिङ गरेको पाइएमा ऐनअनुसार कारवाही गर्ने उल्लेख गरेको छ ।