फोक्सोमा कस्ता कस्ता समस्या देखिन्छन् , समस्या देखिए उपचार कसरी गर्ने ?

काठमाडौं- फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरि शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनलीहुँदै फोक्सोको दुवै भागमा जान्छ।

खासगरी श्वासप्रश्वासबाटै फोक्सोमा संक्रमण हुन्छ। भाइरस ,ब्याक्टेरिया, ढुसी आदिले पनि फोक्सोमा संक्रमण हुन्छ। यसले सास फेर्ने नली सुन्निने हुन्छ। फोक्सोको नली, फोक्सो बाहिरको भाग, छाती र त्यसमा हुने हड्डी अनि मासुमा लाग्ने विभिन्न संक्रामक रोग देखिन्छ। क्षयरोग, फोक्सोको क्यान्सर, निमोनीया, मुटु, किड्नी मस्तिस्कको समस्यालेसमेत फोक्सोमा असर गर्छ।

फोक्सोमा समस्या देखिँदा धेरै खोकी लाग्ने, खोक्दा रगत आउने, हिँड्दा श्वास फेर्न गाह्रो हुने, चाडै थाक्ने, ज्वरो आउँने, दुप्लाउँदै जाने हुन्छ।

मानिसको व्यवहार, धुम्रपान धेरै गर्ने, धुलो धुँवामा काम गर्नेलाई पनि समस्या आउँछ। अरूले धुम्रपान गरेको छ भने पनि नजिकै बस्नेलाई असर गर्छ। त्यस्तै वंशानुगत कारणले पनि असर गर्छ। काठमाडौंको प्रदुषित वातावरण समेत फोक्सोको समस्याका लागि जिम्मेवार छ।

फोक्सोमा देखिएको समस्याको लक्षणका आधारमा यसको उपचार गरिन्छ। फोक्सोमा हुने समस्यालाई लापरबाही गर्नु हुँदैन। कतिपय समस्या औषधि गरेमा पूर्ण रूपमा निको हुन्छ। लापरबाही गरेमा कतिपय रोगहरू अरूलाई सर्नसक्छ भने ज्यानसमेत जाने खतरा हुन्छ।

नेपालको सन्दर्भमा मुटुपछि फोक्सोको समस्या हुने धेरै छन्। कोभिड-१९ ले पनि फोक्सोमा धेरै असर गरेको छ। यसकै कारण कतिपय बिरामीको मृत्यु भएको छ। फोक्सोको क्यान्सर, क्षयरोगका बिरामी पनि धेरै छन्।

जाडोको समयमा फोक्सोका बिरामी अझै सचेत हुनुपर्छ। भाइरस धेरै सक्रिय भएकाले रोग बल्झिने र रोग नभएकालाई पनि निमोनियाको खतरा हुन्छ।

धुम्रपान नगर्नुनै फोक्सोको समस्याबाट जोगिने प्रमुख उपाय हो ।