बेलायतमा बढ्दै ओमिक्रोन संक्रमण, कडा प्रतिबन्ध लगाउने सरकारको तयारी

लन्डन । बेलायतमा एकैदिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका सयभन्दा बढी केस भेटिएका छन् ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार मंगलबार ओमिक्रोनका सय जनाभन्दा बढी संक्रमित देखिएका हुन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मन्त्रिपरिषदको बैठकमा पनि जानकारी गराएका थिए । साथै, उनले यो समेत गरी हालसम्म देशमा ओमिक्रोनका ४ सय ३७ जना संक्रमित भेटिएका जानकारी दिए ।

प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यसअघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताएका थिए ।

हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो।

प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो ‘डेल्टा’ भन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

थप जोखिमयुक्त मानिएको नयाँ भेरियन्टको संक्रमण बढ्दै जाँदा बेलायत सरकारले थप कडाइको तयारी पनि गरिरहेको छ । सरकारले संक्रमण नियन्त्रणको प्रयासस्वरूप यसअघि चर्चा गरिएजस्तै ‘प्लान बी’ नियमहरु लागू गर्नेबारे तयारी थालेको छ ।