अस्ट्रेलियामा नेपाली फुटबलको बिकासका बिषयमा समुदायका सदस्यहरुबीच अन्तरक्रिया

सिड्नी । अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन (एन्फा)को नव निर्वाचित कार्यसमितिले भाबि कार्ययोजनाको बारेमा नेपाली समुदायका सदस्यहरुसँग अन्तरक्रिया गरेको छ ।

२६ नोभेम्बर शुक्रबार बरुडमा रहेको मेट्रो पोलिटायन इस्न्टिच्युट अफ टेक्नोलोजीमा भएको मिट एण्ड ग्रिटमा एन्फाका नवनिर्वाचित पदाधिकारीहरुलाई परिचय गराइएको थियो । एन्फा महासचिव बिजय राउतले संचालन गरेको कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष बिजेन बटाजुले पुरानो कार्यसमितिको योगदानको कदर गर्दै अस्ट्रेलियामा नेपाली खेलकुदको बिकासको लागि योगदान गर्ने सामाजिक संस्थाहरु, समुदायका अगुवाहरु, संचारकर्मी, ब्यवसायिक समुदाय सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा एन्फाका प्रमुख सल्लाहकार डा. कृष्ण श्रेष्ठले एन्फाको आगामी रोडम्यापको बिकास गर्ने टिमको अंशहुन पाएकोमा उत्साहित भएको बताए । एन्फालाई केही सुझाव दिदै डा श्रेष्ठले भने, “अब एन्फाले प्रिमियर लिग संचालन गर्नु पर्छ । साथै एन्फा बिधानको समिक्षा र संस्थागत सुधार जरुरी छ । अस्ट्रेलियाको बृहत्तर समाजमा संलग्न भएर अस्ट्रेलियामा नेपाली फुटबललाई अझै राम्रो, भरपर्दो र मर्यादित बनाएर यहाँको बहुसाँस्कृतिक र मुलप्रवाहमा समेत पहुच बढाउनु पर्छ ।“

एन्फाका कार्यकारी सदस्य, सहारा अस्ट्रेलियाका अध्यक्ष एवं ब्यवसायि राजमान थकालीले अस्ट्रेलियामा नेपाली फुटबलको बिकास देखेर आफु गौरवान्वित भएको बताए । थकालीले भने, “एन्फाको योगदान प्रसंसनिय छ । नेपाल र अस्ट्रेलियामा नेपाली फुटबलको बिकासको लागि मेरो सहयोग निरन्तर रहने छ ।“ कार्यक्रममा समग्र नेपाली फुटबल बिकासको लागि योगदानको कदर स्वरुप टिम नेपालको राष्ट्रिय खेलाडीहरुको हस्ताक्षर भएको जर्सी थकालीलाई हस्तान्तरण गरिएको थियो ।

भेट्रान फुटबलर तथा समाजसेवी एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष र एन्फा सल्लहकार देब गुरुङले हाम्रो फुटबलको गुणस्तर अभिबृद्धि भएको बताए । प्रतियोगिताहरुमा खेलाडीहरुमा स्पोर्टसमेनसीप कायम गरिएको खण्डमा सबै प्रतियोगिताहरु भब्य रुपमा सफल हुने बताए ।

एन आर सीका पूर्व अध्यक्ष, भेट्रान फुटबलर बिष्णु हमालले सबै फुटबल क्लब र पदाधिकारीहरुलाई डा कृष्ण श्रेष्ठले तयार पारेको एन्फा बिधान र कोड अफ कण्डकट् अध्ययन गर्न र कार्यान्वयन गर्न सुझाव दिएका थिए ।एन्फा नेपालका पूर्व कोषाध्यक्ष, एन्फा अस्ट्रेलियाका पूर्व अध्यक्ष एवं बर्तमान प्रवक्ता राजु मानन्धरले सबै खेलप्रेमीलाई उनीहरुको योगदानको प्रसंसा गर्दै एन्फाको आगामी दिनहरु सुनौलो भएको बताए ।

ओली एण्ड एसोसिएट जि एन सी लिगको टिम ड्र

कार्यक्रमको दोस्रो चरणमा २३ औ ओली एण्ड एसोसिएट जि एन सी लिगको टिम ड्र भएको थियो ।

जि एन सी स्पोर्ट संयोजक राजीब प्रधानले संचालन गरेको उक्त कार्यक्रममा जि एन सी अध्यक्ष जितमान लिम्बुले सम्पूर्ण क्लबका प्रतिनिधिहरुलाई खेलमा सहभागि भएर खेलाडीलाई प्रोत्साहन गर्न आग्रह गरेका थिए । सथै एन्फा र जी एन सीको सहकार्यमा अस्ट्रेलियामा नेपाली फुटबलको गौरबलाई संस्थागत बिकास गर्दै लैजान प्रतिबद्धता जनाए । लिम्बुका अनुसार जि एन सी लिग नेपाली डायस्पोरामा सबै भन्दा लामो र संगठित रुपमा संचालन हुँदै आएको छ । उक्त कार्यक्रममा जि एन सीका महासचिव एवं एन्फा कार्यसमिति सदस्य इराज थापाको पनि उपस्थिति रहेको थियो ।