ब्रिटिश चिनूक हेलिकप्टर फिर्ता पठाउन कसले भूमिका खेल्यो? के त्यो सहि निर्णय थियो?

british

लण्डन,

वैशाख १२ गते भूकम्प गएपछि पीडित समक्ष राहत सामाग्री पुर्‍याउने कार्यमा नेपाललाई सहयोग गर्न आएका ब्रिटिश सैनिकका तीन वटा रोयल एयर फोर्स चिनूक हेलिकप्टरले नेपाल छिर्ने अनुमति पाएनन्। पछिल्ला करिब दुई सातादेखि भारतीय वायुसेनाको चण्डीगढ़स्थित अड्डामा ति हेलिकप्टर अलपत्र बसेका छन्।

भूकम्प आए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैयन मुलुकका विमान र हेलिकप्टर राहत लिएर उत्रिए। दुई दर्जनभन्दा धेरै  मुलुकका सेना उद्धार र राहतमा सहभागी बने। ब्रिटिश गोर्खाहरुलाई लिएर आएको बेलायती सेनाको अर्को जहाज र डिएफआइडीको राहत सामाग्री लिएर आएको जहाजले पनि काठमाडौं छिर्ने अनुमति पाए।

तर नेपालसँग सबैभन्दा पूरानो कुटनीतिक सम्बन्ध भएको बेलायतका अत्याधुनिक तीन चिनूक सैनिक हेलिकप्टर नेपाल छिर्न पाएनन्। कैयन कुटनीतिक र अन्य पहल गर्दा पनि बेलायतले ति जहाज नेपाल ल्याउन सकेको छैन।

चिनूक हेलिकप्टरलाई नेपाल  जान किन दिइएन?जान नदिन कसले भूमिका खेल्यो? के त्यो सहि निर्णय थियो?

यस्ता धेरै स्वभाविक प्रश्न उठेका छन्। बेलायतसँग नेपालको लामो र गहिरो कुटनीतिक सम्बन्ध छ। अहिले पनि नेपालीहरु ब्रिटिश सेनामा काम गर्छन्। यसैपाली पनि राहतमा सघाउन धेरै ब्रिटिश गोर्खा सरकारी तवरमा नेपाल आएका छन्। ब्रिटेन अहिले नेपालको सबैभन्दा ठूलो द्विपक्षीय सहयोग गर्ने मुलुक हो। भुकम्प आएपछि नेपाललाई अहिलेसम्मको सबै भन्दा ठूलो राहत घोषणा गर्ने मुलुक पनि ब्रिटेन नै हो। भोलिको पुनर्निर्माण र पुनर्स्थापना अभियानमा पनि बेलायती सहयोग अपेक्षित छ।

यति पूरानो र बलियो कुटनीतिक सम्बन्ध हुँदा हुँदै पनि किन चिनूक हेलिकप्टर नेपाल छिर्न पाएनन्?

कतिपयले भारत वा चीनका कारण चिनूक नेपाल आउन नपाएको अड्कल गरेका छन्। यस्तो अड्कल गर्नेमा स्वयम् ब्रिटिश मिडिया पनि छन्।

तर, उच्च सैनिक लगायत अन्य स्रोतबाट सेतोपाटीलाई प्राप्त सूचना अनुशार चिनूक नेपाल प्रवेश गर्न नपाउनुको एउटा मात्रै कारण छ-नेपाली सेनाको ब्रिटेनसँग रिसिवी साध्ने मनसाय। उच्च सैनिक स्रोतले भन्यो, त्यो रिसिवीको एउटै मात्र कारण हो, ब्रिटेनमा नेपाली सेनाका कर्नेल कुमार लामाको गिरफ्तारी।

गैरसैनिकलाई सेनाको ब्यारेकमा गैरन्यायिक थुनुवा र यातना दिएको आरोपमा अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने कानुन अन्तर्गत ब्रिटिश अदालतको आदेशमा कर्णेल लामा लण्डनमा पक्राउ परेका थिए। उनी अहिले पनि लन्डनकै जेलमा छन्।

नेपाली सेना र सरकारको कयैन पहलका वावजुत कर्णेल लामा जेलमुक्त हुन सकेका छैनन्। ब्रिटिश सरकारले अदालतको मामला भएकोले लामाको मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको जवाफ दिँदै आएको छ।

नेपाली सेनाले लामा थुनिएको रिस विपद्‌मा सहयोग गर्न आएको नेपालको सबैभन्दा पुरानो मित्र माथि पोखेको छ। यति सम्मकि चिनूकलाई नेपाल आउन दिन पहल गर्न प्रधानसेनापति गौरव समशेर राणालाई भेट्न खोज्दा बेलायतका कार्यवाहक राजदूत जोन र्‍यानकिनलाई उनले समयसम्म दिएनन्। जवकी प्रधानसेनापति राणा अमेरिकी राजदूत पिटर बोडेलाईसँगै लिएर प्रधानमन्त्री सुशील कोईराला कँहा गए।

कोईरालालाई बोडेले त्यहीँबाट अमेरिकी राष्ट्रपति बाराक ओवामासँग कुरा गराएका थिए।

अमेरिकाले उद्धार र राहतका लागि सेना र हेलिकप्टर त्यसपछि नै पठाएको हो।