लण्डन– सहयोगका लागि पठाइएको हेलिकप्टर अलपत्र परेपछि बेलायती सरकारले नेपाली सरकारसँग उक्त हेलिकप्टर चाहिने वा नचाहिने भन्ने विषयमा अन्तिम पटक वार्ता गर्ने भएको छ ।
वेलायत सरकारले राहत समाग्री र उद्धारकर्मीसहित नेपालका लागि पठाएका सिएच-४७ (चिनुक) नामक तीन वटा हेलिकप्टर एकसाता अघि दिल्ली पुगेका थिए |भूकम्पपीडितलाई राहत दिन जान नसकेको अवस्थामा बेलायती जहाजले सक्षमताका साथ आपूर्ति गर्नसक्ने दाबीका साथ बेलायती सरकारी प्रतिनिधि नियोगहरूले ‘लबिङ’ तीव्र पारेका हुन्।नेपाली सेनाले ती उद्धार कार्य गरेमा आफूलाई आपत्ति नहुने र उद्धार तथा राहतमा राजनीति घुसाउन नचाहेको पनि बेलायती प्रतिनिधिहरूको दाबी छ।
यी ठूला विमानको चर्को आवाज आउने र दुर्गममा उडान अवतरणमा समस्या हुने भएकाले सरकारले रोक्नु परेको स्रोतको भनाई छ ।
यता, स्काई न्युजको भने दाबी अर्कै रहेको छ । स्काई न्युजका अनुसार विनाशकारी भूकम्प आएको शुरुवातमा नेपाल सरकारले विदेशबाट आएको हरेक राहत र उद्धारको आग्रहलाई स्वीकार गर्दै गयो । तर, पछि मात्र नेपाल सरकारलाई सबै जनालाई व्यस्थापन गर्न नसकिने कुरा थाहा भयो ।
यसरी अरु देशका विमानहरु निर्वाध रुपमा नेपालमा राहत र उद्धारमा खटिरहँदा उता बेलायत भने नेपालसँग रुष्ट बनेको छ ।
बेलायती सरकारका एक प्रवक्ताका अनुसार, ‘संयुक्त राष्ट्रसंघ तथा अन्य गैर सरकारी संस्थाले नेपालका दुर्गम क्षेत्रमा राहत र उद्धारका लागि अझै हेलिकप्टर आवश्यक रहेको बताइरहँदा नेपालका लागि उपयुक्त हुने उपकरणसहित चिनुक हेलिकप्टरलाई पटाइएको छ ।’
हेलिकप्टरसँगै त्यसका ४० जना चालक दल, इन्जिनियरहरु पनि भारतमा अलपत्र परेका छन् ।
राहत र उद्धार बिना हेलिकप्टर पुनः बेलायत फर्काउन बेलायती सरकारको लागि प्रतिष्ठाको विषय बनेको छ । यद्यपि, त्यतिकै राखिराख्नु पनि उपयुक्त नरहेको भन्दै बेलायत सरकारले आफ्नो धैर्य गुमाउन लागेको बेलायती सञ्चार माध्यमहरुले बताएका छन् ।
दुई वटा रोटर भएको चिनुकले एक पटकमा ७० जना मानिसको उद्धार गर्न सक्छ भने विकट क्षेत्रमा प्रभावशाली मानिन्छ । घण्टौसम्म बिना तेल हाली उड्न सक्ने र विकट पहाडी क्षेत्रमा ल्याण्ड गर्न सक्ने क्षमता भएको यस हेलिकप्टर धेरै उचाईंसम्म उड्न सक्ने भएकाले नेपालको राहत र उद्धारका लागि उपयुक्त हुने विशेषज्ञहरुको दाबी छ ।






