लन्डन ।
लन्डनस्थित नेपाली दूतावासले भूकम्प पीडितका लागि १ करोड रुपैयां भन्दा बढि जुटाएको छ । दूतावासले स्थापना गरेको नेपाल — बृटेन राहत कोषमा हाल सम्म ६५ हजार ४ सय ८६ पाउण्ड, ५ पेन्स जम्मा भइसकेको दूतावासले जनाएको छ । दूतावासद्धारा बुधबार जारी विज्ञप्तिमा आफ्नो कोषमा संकलित रकम पारदर्शी रुपमा सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरेको
छ । विज्ञप्तिमा दूतावासले विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त सहयोग रकम सही सदुपयोग, समुचित तथा पारदर्शीरुपमा भूकम्प पीडितहरुलाई उद्धार, राहत, पुर्नस्थापना तथा पुनःनिर्माण लगायतमा उपयोग गर्न नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने उल्लेख गरेको छ ।
२५ अप्रिल शनिवार नेपालमा विनाशकारी भूकम्प आए लगत्तै नेपाल सरकारले विशुद्ध राहत, उद्धार, पुर्नस्थापना, पुर्ननिर्माणका साथै दैवी प्रकोप एवं विपत्तिबाट क्षतिग्रस्त संरचनालाई संवोधन गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना गरेको थियो । दूतावासले विज्ञप्तिमार्फत कोषको प्रयोग दैवी प्रकोपवाट प्रभावितहरुको उद्धार, राहत, पुर्नस्थापना, पुर्ननिर्माणका साथै दैवी प्रकोप एवं विपत्तिबाट क्षतिग्रस्त संरचना पुरानै स्वरुपमा फर्काउने कार्यका लागि तत्काल प्रयोग गरिने समेत अवगत गराएको छ ।







