भूकम्पको ठूलो धक्कापछि ३८ वटा धक्का महशूस

काठमाडौं, बैशाख ३० । हिजो दिउँसो १२ बजेर ५० मिनेटमा ६ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएयता आज विहान साँढे चार बजेसम्ममा चार म्याग्नेच्यूडमाथिका ३८ वटा धक्का महशूस गरिएको छ ।
मंगलवार मध्यरातसम्म ३५ तथा बुधवार विहान साँढे चारसम्ममा अरु तीन वटा झट्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
जसमा ६ दशमलव ८ र ६ दशमलव २ म्याग्नेच्यूडको एक/एक, पाँचदेखि पाँच दशमलव ९ म्याग्नेच्यूडसम्मको ११ तथा चारदेखि चार दशमलव ९ म्याग्नेच्यूडसम्मको २५ वटा धक्का गएको उक्त केन्द्रले जानकारी दिएको छ ।
पछिल्लो धक्का आज विहान ४ बजेर ३८ मिनेटमा चार दशमलव तीन म्याग्नेच्यूडको थियो ।
दोलखा केन्द्रबिन्दु भएर २८, सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ७, रामेछापमा २, धादिङ र काठमाडौं केन्द्रबिन्दु भएर एक/एक वटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द«ले जनाएको छ ।