काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा वर्तमान उपाध्यक्ष रविना थापाले औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छन् । विहिबार काठमाडौंको याक एन्ड यति होटलमा एक पत्रकार सम्मेलन आयोजना गरी एनआरएनए आईसीसीको लागि आगामी अक्टोवर २० तारिखमा हुन लागेको निर्वाचनमा उनले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी हुन् ।
थापाले संघको इतिहासकै पहिलो महिला अध्यक्ष बन्ने उद्घोष समेत गरिन् । २००३ मा स्थापना भएको एनआरएनएको केन्द्रीय अध्यक्ष बन्न महिला उम्मेद्वारको रुपमा आफ्नो कसरत गरेको भन्दै इतिहास रच्ने अभियानमा साथ दिन आग्रह गरिन् ।

‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं’, उनले भनिन्, ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्’ ।
वर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेकी थापाले नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, नयाँ पुस्ता, नेपालमा लगानी, विदेशबाट मताधिकार लगायतका अजेण्डासहित आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । नेपाली नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, विदेशमा जन्मिएका नयाँ पुस्ताहरुलाई नेपालसँग जोड्न भैरहेको प्रयास, मातृभूमीको विकासमा लगानी जुटाउने प्रयास, विदेशस्थित नेपालीहरुलाई दिइने मताधिकारको कार्यान्वयन र एनआरएनए नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचनको सुनिश्चितता गर्ने लगायतका एजेन्डाहरु उठाएकी छन् ।
यस्ता छन् उनले पत्रकार सम्मेलनमा बताएका केही एजेन्डाहरुः
- महिलालाई नेतृत्वदायक पदमा पुर्याउनु,
- अमेरिकासहित विश्वबाट नेपालमा सहयोग तथा लगानी वृद्धि गर्नु,
- विदेशमा भएका नेपालीहरुलाई नागरिकताको निरन्तरता
- विदेशमा रहेका नेपालीहरुलाई मताधिकार
- विदेश जाने नेपालीहरुलाई गन्तव्य देशको बारेमा ज्ञान सीप जानकारी गराउन सरकारसँग समन्वय
- विदेशमा रहेका नेपाली श्रमिकहरुका समस्याहरुको समाधान,
- विदेश जाने नेपाली श्रमिकहरुको वीमा, स्वास्थ्य वीमा र सामाजिक सुरक्षाको प्रवन्ध
- मिलाउन सरकारसँग समन्वय,
- एनआरएनएमा पञ्जीकृत सदस्यहरुको संख्या बढाउने र सबैले आईसीसीमा मतदान पाउने व्यवस्था गर्ने,
- विदेशमा नेपालको कला, संस्कृतिको प्रवद्र्धन गर्ने,
- विदेशमा नेपाली फिल्महरुको विस्तारमा सहयोग, इत्यादि
पत्रकार सम्मेलनमा विगत २० बर्षदेखि प्रवासमा रहेर नेपालीको हक अधिकारका लागि निरन्तर रुपमा संघर्षरत थापाले आफ्नो सोही कार्यको अब्बल निरन्तरताको निम्ती उम्मेद्वारी घोषणा गरेको बताइन् । उनले अब एनआरएनएमा महिलाको नेतृत्व स्थापना गरी ईतिहाँस कायम गर्नुपर्ने बताउँदै भनिन्, ‘हिजो उपाध्यक्षमा निर्वाचित गर्दा सबैभन्दा धेरै मत ल्याउन सकेकी थिएँ, अहिले पनि अध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर रेकर्ड बनाउने गरी जित्छु, सहयोग गर्नुस् ।’ उनले परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको तर केही समय सार्नमात्रै अनुरोध गरेको भन्दै तोकिएकै समयमा चुनाव हुनेमा विश्वस्त रहेको बताइन् । सोही कार्यक्रममा उपाध्यक्षमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेद्वारी घोषणा गरे ।

उम्मेद्वारी घोषणा गर्दै उपाध्यक्षका दावेदार गुरुङले आफूले लामो समयदेखि एनआरएनएमा संलग्न भएर काम गरेको भन्दै उपाध्यक्षमा अवसर दिन आग्रह गरे । आफू भुपू गोर्खा पनि भएको कारण गोर्खालीहरुका समस्या समाधानमा बढी केन्द्रीत हुने बताए ।
त्यस्तै महासचिवका दाबेदार अधिकारीले एनआरएनए सदस्यहरुको संख्या १५ लाख पुर्याउने, राजनीतिक प्रभाव कम गर्ने, संस्थाको आर्थिक विकास गर्ने र यसको पारदर्शिता सुनिश्चित गर्ने, नागरिकता निरन्तरता, मताधिकार, स्वायत्त एनसीसी, नेपालमा लगानी वृद्धि, नेपाली कल्चरल भिलेज बनाउने लगायतका एजेन्डाहरु रहेको बताए । महिला तथा युवाहरुलाई एनआरएनएमा संलग्न गराउने अभियानमा आफूहरु रहेको उनले बताए । सोही अवसरमा भर्चुअल रुपमा जापानबाट ओम गुरुङले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका थिए । त्यस्तै अमेरिकाबाट प्रेम श्रेष्ठ र कृष्ण पन्तले पनि भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।
बेलायतबाट पत्रकार विपिन निरौलाले अन्तरक्रिर्यामा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन बर्षा भण्डारीले गरेकी थिइन् । संघको १० औं महाधिवेशनमा नेतृत्वको लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
चुनावी दौडाहमा रहँदै अध्यक्ष प्रत्यासी थापाले केही प्रतिबद्धताहरु समेत सार्वजनिक गरेकी छन्ः
- अहिलेको आवश्यकताः नेपाली नागरिकताको निरन्तरता,
- अबको अभियानः हाम्रो मतदान,
- हुनलाई विकासमा महिला, अब साथ दिन्छन् महिला,
- सुरक्षित रोजगार, समृद्धिको आधार,
- देश बन्छ उद्यमले, उद्यमीलाई साथ दिन्छौं हामीले ,
- देशको लागि अर्पितः विदेशबाट पनि सधैं समर्पित,
- विदेशी तनः नेपाली मन,
- युवाको साथ अब दिगो विकास,
- संगठनको आधार सबैलाई मतदानको अधिकार






