लण्डन । बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् ।
पछिल्ला केही दिनयता यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । शुक्रबार ३८ हजार भन्दा पनि बढी सङ्क्रमित थपिएका छन् ।
यहाँ गएको २४ घण्टामा ३८ हजार १३ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । यो समेत गरी बेलायतमा सङ्क्रमित हुनेको सङ्ख्या ७१ लाख ३२ हजार ६२ जना पुगेको छ ।
त्यसैगरी १६७ जनाको कोरोनाकै कारण निधन भएको छ । यहाँ लामो समयपछि एकै दिन यतिधेरै मानिसको निधन भएको हो ।
पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमित थपिने र मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ । तर धेरै पछि यहाँ एकै दिन १६७ जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । हालसम्म यो भाइरसबाट एक लाख ३३ हजार ८८१ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको हो । त्यसैले सरकारले यहाँ सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरिरहेको छ ।






