सिड्नीमा थामिएन कोभिड संक्रमण, केही क्षेत्रमा कर्फ्यु आदेश जारी

सिड्नी । अति नै संक्रामक मानिएको डेल्टा भेरियन्ट सहितको कोभिड संक्रमण बढ्दै जान थालेसँगै सिड्नीमा लगाइएको लकडाउन फेरी एक महिना थप गरिएको छ । त्यस्तै केही क्षेत्रहरुमा कर्फ्यु आदेश जारी भएको छ ।

प्रिमियर ग्लाडिस बेरेजिक्लियनका अनुसार दुई महिनादेखि सिड्नीमा लगाइएको लकडाउन एक महिना थपिएको छ भने सिड्नीमा १२ स्थानीय तहहरुमा कर्फ्यु आदेश जारी भएको छ ।

यसअघि बढी जोगिम करार गरिएका क्षेत्रहरु बेसाइड, ब्लाक टाउन, बर्उड, क्याम्बेलटाउन, काउन्टरबेरी, बैंकस्टाउन, कम्बरल्याण्ड, फेयरफिल्ड, जोर्जस रिभर, लिभरपुल, पारामाटा , पेनरिथ, र स्ट्राथफिल्डमा कर्फ्यु आदेश जारी भएको हो । २३ अगष्टदेखि विहान ५ बजेदेखि राती ९ बजेसम्म उक्त कर्फ्यु लाग्नेछ ।

न्यू साउथ वेल्समा विनाकाम घरबाहिर नआउन भनिएको छ भने मास्क अनिवार्य गरिएको छ ।

यस्तै वितेको २४ घण्टामा एनएसडब्लुमा ६४४ संक्रमित थपिएका छन् भने चारजनाको मृत्यु भएको छ । त्यस्तै ५५ जना संक्रमित भिक्टोरियामा पनि भेटिएका छन् ।

हालसम्म संक्रमित हुनेको संख्या १६ हजार १६४ पुगेको छ भने ४७० जना अस्पतालमा छन् । ८० जना आईसियूमा रहेका छन् भने १२१ जनाले ज्यान गुमाएका छन् ।

वितेको २४ घण्टामा १ लाख २७ हजार बढी नमुना परिक्षण भएका छन् । हालसम्म १ करोड २४ लाख ७२ हजार धेरै परिक्षण भएको सरकारले जनाएको छ ।