काठमाडौं, २४ वैशाख । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई पराजित गरेको छ । स्पेनिस क्लब बार्सिलोनाको मैदान नुवो क्याम्पमा बुधबार राति भएको खेल घरेलु टोलीले ३–० ले जितेको हो । ७७ मिनेटसम्म गोलरहित अवस्थामा रहेको खेलको अन्तिम १३ मिनेटमा तीन गोल भएको हो । बार्साको लागि लियोनल मेसीले दुई गोल गरे भने नेइमारले एक गोल थपे ।
पहिलो लेगको हारपछि जर्मन क्लब बायर्न म्युनिख दबाबमा आएको छ । फाइनलमा प्रवेश गर्न बायर्नले अर्को हप्ता आफ्नै मैदानमा हुने दोस्रो लेगको खेलमा कम्तिमा ४ गोल गर्नुपर्ने हुन्छ । च्याम्पियन्स लिग सेमिफाइनलको अर्को खेलमा इटालीको युभेन्टसले स्पेनको रियाल मड्रिडमाथि २–१ को अग्रता लिएको छ ।
मेसी र नेइमारको गोलले बार्सिलोना विजयी






