कडा प्रतिबन्धका बाबजुद सिड्नीमा कोभिड संक्रमण बढ्दो, विहिबार थपिए २४० संक्रमित

सिड्नी । न्यू साउथ वेल्समा कोभिड संक्रमण दैनिक रुपमा बढ्दै गएको छ ।वितेको २४ घण्टामा २३९ संक्रमित थपिएका छन् भने ओभरसिजमा १ जनामा संक्रमण देखिएको छ । वितेको २४ घण्टामा १ लाख १० हजार बढी नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमित भेटिएका हुन् ।

२५ जनवरी २०२० देखि हालसम्म कुल संक्रमितको संख्या ८३४२ पुगेको छ । हालसम्म ६८ जनाको निधन भएको छ भने ५४ जना आईसीयूमा छन् । १८२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार १७७ नयाँ संक्रमित थपिएकोमा विहिबार संक्रमणको अवस्था अझै बढेको पाइएको हो । सरकारले कोभिड १९ महामारीको चेन ब्रेक हुन अझै नसकेको भन्दै थप चार हप्ता लकडाउन थप्ने निर्णय समेत गरेको छ ।

सिड्नीका केही क्षेत्रहरुमा संकटकाल समेत घोषणा गरिएको छ ।

एक महिना भन्दा लामो समयदेखि लकडाउनको अवस्थामा रहेको सिड्नीमा कोभिड संक्रमित बढ्ने क्रम रोकिएको छैन । प्रिमियर बेरेजिक्लियनले शुक्रवारसम्म लगाइएको लकडाउनमा चेन ब्रेक गर्न नसकिएको भन्दै अझै केही दिन शान्त रहन शहरबासीहरुलाई आग्रह गरिन् ।

यस अवधिमा अत्यावश्यकबाहेक अन्य कामको लागि घरबाहिर निस्कन बन्देज गरिएको छ । सिड्नीमा पछिल्लो समय अत्यन्तै संक्रामक मानिएको डेल्टा भेरियन्टका संक्रमितहरु बढीरहेका छन् ।

बुधबार भिक्टोरिया र साउथ अष्ट्रेलियामा लकडाउन अन्त्य गरिएको छ भने सिड्नीमा थप गरिएको हो । अब लकडाउन २८ अगष्टमा हुने भएको छ ।

हालसम्म १६ प्रतिशत मानिसहरुले मात्रै अष्ट्रेलियामा खोप लगाएका छन् ।