बेलायतमा भूपू गोर्खाका वृद्ध बाबा आमाको सेवामा समर्पित को हुन् लीलादेवी ?

शिव भण्डारी ।

लण्डन । भनिन्छ सेवा नै धर्म हो । सेवा गरे पनि निःशुल्क सेवा गर्ने कमै मात्रामा भेटिन्छन् । तर यसैवीचमा बेलायतमा भुपु गोर्खा इन्द्र कुमार गुरुङकी श्रीमती लीलादेवी गुरुङले पछिल्लो समय समाज सेवामा आफ्नो उचाइ बढाउँदै बेलायती नेपाली समुदायको एक हिस्सा बन्न सफल भएकी छिन् ।

कास्की जिल्ला पोखरा जन्म भई २००७ सालमा यूके आएकी उनले हाल बेलायतमा रहेका नेपाली पूर्व गोर्खा ज्येष्ठ नागरिकहरूको सेवा गर्दै आएकी र उनीहरुको भाषागत समस्या समाधानमा ठुलो सहयोग गर्दै आएकी छिन् ।

उनी बिहानैदेखि हतारमा हुन्छिन् । घरायसी काम काज सक्नुपर्छ । श्रीमान् काम तिर लाग्छन् । उनी घरबाट निस्किन्छिन् । जागिरका लागि होइन सेवाका लागि । ज्येष्ठ नागरिकहरूको सेवामा समर्पित छिन् बेलायत स्थित एक समाजसेवी लिलादेबी । सेवा नै धर्म भएको बताउने लिलाले आफ्नो सेवाकर्मको कथा लन्डन नेपाल न्युजका प्रधान सम्पादक शिब भण्डारीसँग यसरी साटिन्ः म सानैदेखि सामान्य स्वभावको थिएँ । वचपनदेखि नै मेरो सामाजिक सेवामा रुचि थियो ।सानैदेखि अरुको सेवामा मेरो मन जाने भएर होला मलाई ज्येष्ठ नागरिकहरूको सेवा गर्न पाउँदा एकदमै खुशी लाग्छ ।

आज मैले गरेको सेवाले पूण्य कमाउँछु जस्तै लाग्छ ।यो सेवामा मेरो श्रीमानको समेत देन छ । समाजलाई स्वच्छ राख्नुपर्छ, सबैले सम्मानजनक स्थान पाउनुपर्छ भन्ने मेरो चाहना छ । दुःख कसैको पनि देख्न सक्दिन मैले । त्यसैले जे जस्तो सक्छु, त्यस्तै सहयोग गर्छु भनेर अघि बढेँ ।

विशेष गरी नेपाली बुवाआमाहरुमा कमजोर अँग्रेजीको कारण हुने समस्याहरु समाधान गर्नको निम्ती इन्टरप्रेटर अथवा दोभासेको रुपमा उनले थुप्रै आमावुवाको सेवा गरेकी छिन् ।

लामो समय देखि बेलायतको साउथइष्ट लण्डनको प्लमस्टिटमा बस्दै आएकी उनी अस्पताल, स्वास्थ्यचौकी लगायतका क्षेत्र हरुमा आइपर्ने हरेक कार्यको  भूपू सैनिकका बाबुआमाहरुलाई दोभासेको रुपमा सेवा गर्दै उदाहरणीय बन्न सफल भएकी हुन् ।

त्यसैगरी वृद्धवृद्धाहरुको निधन पश्चात परिवारलाई अवस्था हेरि ३५ सय देखि ५ हजार सम्म सहयोग गर्ने अभियान पनि चलाइन् । उनकै कार्यकालमा वुद्धवृद्धाहरुको लागि दशै पार्टी अँग्रेजी कक्षा समेत उनले सञ्चालनको नेतृत्व गरिन् ।

ओलम्पिकको समयमा डोर सुपरभाइजर हुँदै, एयरवेजमा समेत काम गरेकी उनले करिब आधा दर्जन संघसंस्थामा नेतृत्व समेत गरिसकिन् ।

ग्रीनीच गोरखा एक्स सर्भिसमेन्स एसोसिएसन (जीगेसा) की पूर्व अध्यक्ष लीलादेवी गुरुङ एसोसियसनमा सहसचिब हुँदै अध्यक्ष सम्म सम्हालिरहँदा उनले वृद्ध आमावुवाहरुको सेवामा साथ र सहयोग गर्दै आइन् ।

‘कुनै पनि सदस्य तथा बुवाआमाको समस्या पर्दा समाधान गर्नमा कुनै कसर बाँकी नराखी अघि बढेँ’, उनले लण्डन नेपाल न्यूजसँग भनिन्,’सबैको साथले विभिन्न संघसंस्थामा आबद्ध हुँन पाएँ, त्यहीबाट समाजसेवामा जोडिएँ ।’

उनले एनआरएनएमा पनि दुई बर्षसम्म महिला संयोजकको रुपमा काम गर्दै महिला अधिकारको आवाज उठाइन् । रोयल बरो अफ ग्रिनविच नेप्लिज् सोसाइटी (आरजिएनएस) उपाध्यक्षको पदमा रहेर काम गर्दै उनले पछिल्लो समयमा चलिरहेको कोभिड १९ महामारी विरुद्ध ज्येष्ठ नागरिकहरुलाई मास्क, सेनिटाइजर लगायतका थुप्रै स्वास्थ्य सामग्री घरघरमै पुगेर वितरणको अभियान सञ्चालन गरिन् ।

त्यसैगरी गर्मी तथा जाडो दुवै मौसममा ज्येष्ठ नागरिकहरूको लागि लगाउने कपडा वितरण समेत उनको नेतृत्वमा गरिएको थियो ।स्वास्थ्य अवस्था कमजोर भएका वृद्धवृद्धाहरुको मनोवल बढाउने गरी उनीहरुको स्याहार गर्ने तथा विभिन्न पौष्टिक आहार वितरण गर्ने अभियान पनि लीलादेवीले चलाइन् ।

‘अरुको दुःख नै आफ्नो दुःख हो जस्तो लाग्छ,’ उनी भन्छिन्,’कोही व्यक्ति समस्यामा फसेको देख्न सहन सकिदैन, जे जस्तो सकिन्छ त्यस्तै सहयोग गर्न मन लाग्छ ।’

साहित्य सृजनामा सौख राख्ने लिला देबी गैरआवासीय नेपाली संघ एनआरएन यूकेकी पूर्व महिला संयोजक हुन् उनको सामाजिक योगदानलाई मूल्यांकन गर्दै एनआरएन युके बाट उनि एनआरएन आईसीसी सदस्यमा अत्यधिक मतका साथ बिजयी बनेकी थिइन् ।