काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाएपछि शपथ समारोह केही बेर ढिला भएको थियो ।
राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेपछि शपथग्रहण कार्यक्रम केहीबेर रोकिएको थियो । राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्याएपछि देउवाले शपथ लिएका हुन् ।
त्यस्तै मन्त्रीहरुले पनि शपथ लिएका छन् । गृहमन्त्रीमा बालकृष्ण खाँण, कानून मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा तथा उर्जामन्त्रीमा पम्फा भुसालले पनि शपथ लिएकी छिन् ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् । उक्त अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत शीर्ष नेताहरु उपस्थित छन् ।






