सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा डा. ज्ञानेन्द्र रेग्मीले उम्मेद्वारी दिने भएका छन् ।
यही आउदो जुलाई ३१ तारिखमा हुन गइरहेको नयाँ नेतृत्वको लागि चुनावमा उनले उम्मेद्वारी घोषणा गरेका हुन् । प्रवक्ता र वर्तमान महासचिवको रुपमा काम समेत गरिसकेका उनी अस्ट्रेलियन सरकारका वरिष्ठ इन्जिनियर समेत हुन ।
इन्जिनियरिङ्गमा विद्याबारिधी गरेका डा. रेग्मीले हाम्रो एनआरएनए राम्रो एनआरएनए नाराका साथ समूहगत रुपमा उम्मेद्वारी दर्ता गर्ने तयारी गरेका छन् । डेमोक्रयाट समूहवाट आधिकारीक रुपमा अगाढी बढेका रेग्मीले सबैखाले बिचारका व्यक्तिहरुलाई समेत टिममा सामेल गराएर अघि बढ्ने योजना रहेको बताए ।
उनले भने, ‘परोपकारी कार्य गर्न आउने मनसाय लिएर एनआरएनमा आउदैँ गर्दा सबैलाई समेटेर अघि बढ्नुपर्छ भन्ने मेरो मूल उद्धेश्य हो, यही अनुसार अघि बढ्छौँ ।’
आफूले प्रवक्ता र महासचिवको रुपमा काम गर्न संस्थालाई सहि दिशामा हिडाउनको निम्ती मिहेनत गरेको भन्दै उनले भने, ‘संस्थालाई साझा चौतारीका रुपमा अगाढी बढाउने मेरो प्रयास हो, त्यसको निरन्तरता स्वरुप अध्यक्षमा उम्मेद्वारी दिदैछु ।’






