एनआरएनए यूकेको सदस्य बन्न आवेदन पुगे ११ हजार ६ सय, कस्ले कती बनाए ?

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतले खुलाएको सदस्यता लिन साढे ११ हजार भन्दा धेरैले आवेदन दिएका छन् ।

यसअघि जुन १० गतेसम्म दिइएको समयसीमाभित्र ९ हजारले आवेदन भरेकोमा त्यसपछि थपिएको ४ दिनको समयमा आवेदन दिनेहरु ११ हजार ६ सय ४२ पुगेका हुन् ।

एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले प्राप्त आवेदनहरुमध्ये अधिकाशंको सदस्यता स्वीकृत भइसकेको जानकारी दिए ।

दुई वर्षअघि झन्डै १४ हजार सदस्यसहित यूके विश्वकै सबभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद (एनसिसी) बनेको थियो । यो वर्ष पहिलोपटक एनआरएनए आइसीसीको ‘एमआइएस सिस्टम’ अन्तर्गत अनलाइनमार्फत् सदस्यता वितरण गरिएको थियो ।

एनआरएनए यूकेले एक वक्तव्यमार्फत् सदस्यताका लागि आवेदन गर्ने बेलायतवासी सबै नेपालीमा धन्यवाद ज्ञापन गरेको छ ।

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले जारी गरेको वक्तव्यमा समुदायस्तरमा एनआरएनएप्रति देखिएको चासो, सरोकार र सहभागितालाई एनआरएनए यूकेले सकारात्मक र महत्वपूर्ण रुपमा लिएको उल्लेख छ ।

एनआरएनए यूकेको आसन्न निर्वाचन स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्न वर्तमान कार्यसमिति प्रतिवद्ध रहेको भन्दै वक्तव्यमा समुदायबाट आवश्यक साथ र सहयोगको अपेक्षा गरिएको पनि जनाइएको छ ।

एनआरएनए यूकेको आगामी कार्यसमिति चयनका लागि आउंदो जुलाई ३१ तारिखका दिन निर्वाचन हुँदैछ । भावी अध्यक्षका लागि अहिलेसम्म प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठ मैदानमा देखिएका छन् । यद्यपि कुन उम्मेद्वारको पक्षमा कति मत छन् भन्ने विवरण भने प्राप्त भएको छैन ।
यसपटकको निर्वाचनमा पनि निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।