नक्कली टिकट बेच्ने एनआरएनए नेताको कार्यालयमा पोर्चुगल प्रहरीको छापा, कुँवर पदबाट निलम्बित

दिल निसानी मगर/ लिस्बन पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रम जंग कुँवरको कार्यलयमा प्रहरीले छापा हानेको छ । उनले नेपाल फर्किन लागेका नेपालीलाई नक्कली टिकट बेचेको खुलासा भएपछि पोर्चुगल प्रहरीले छापा हानेको हो । उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा

प्रहरीले स्थानीय समय अनुसार सोमबार रातको करिब ११ बजे छापा मारेको थियो। स्रोतका अनुसार सो क्रममा प्रहरीले कैयौँ फर्जी कागजातहरु बरामद गरेर लगेको छ।

प्रहरीले छापा मारे पश्चात सो ट्राभल्सबाट विभिन्न समयमा विभिन्न शीर्षकमा ठगिएको भन्दै दर्जनौँ नेपालीहरुको ट्राभल्स अगाडि भीड नै लागेको थियो। उनीहरुले ट्राभल्स संचालकको चर्को विरोध गरेका थिए भने आफूहरुलाई सहयोग गर्न प्रहरी समक्ष याचना गरिरहेका देखिन्थे।

यसैबीच एनआरएन पोर्चुगलले ठगी प्रकरण बाहिरिए लगत्तै राति नै एक विज्ञप्ति जारी गर्दै आफ्नो कोषाध्यक्ष बिक्रम कुँवरलाई पदबाट निलम्बन गरेको बताएको छ। एनआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरे र महासचिव हेमराज सुवेदीले संयुक्त रुपमा जारी गरेको उक्त विज्ञप्तिमा समाचारमा आएको विषय प्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन्।