बेलायतको जनगणनामा ‘नेपाली’ लेख्न एनआरएनए र सिएनएस यूकेले गरे अपिल

लण्डन । बेलायतमा यही मार्च २१ देखि शुरू हने देशव्यापी जनगणनामा सहभागि हुने नेपालीहरुले नेपाली लेख्न एनआरएनए यूके र सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले अपिल गरेका छन् । बेलायतमा हुन गइरहेको जनगणनामा इथ्निसिटी र मुख्य भाषामा नेपाली लेख्न उनीहरुले अपील गरेको हुन् ।

एनआरएनए युके, एनआरएनए इङल्याण्ड र वेल्स राज्यसमितिहरु र सिएनएस युकेले संयुक्त रुपमा प्रकाशित गरेको न्यूजलेटरमा सो अपील गरिएको हो ।

न्यूजलेटरमा जनगणनाको व्यक्तिगत विवरणका लागि सोधिएको प्रश्न नम्बर १५, ‘इथ्निक ग्रुप’ मा ‘सी’ खण्डमा गई पाँचौँ बाकसमा ‘एनी अदर एसिएन ब्याकग्राउण्ड’ मा टिक लगाई ‘नेपाली’ लेख्न वा कम्प्युटरबाट भर्दा ‘नेपाली’ छान्न अनुरोध गरिएको छ ।

त्यस्तै, प्रश्न नम्बर १८ को मुख्य भाषाको प्रश्नमा ‘अदर’मा टिक लगाई ‘नेपाली’ लेख्न वा कम्प्युटरमा भर्दा ‘नेपाली’ छान्न अपील गरिएको छ ।

बेलायतमा नेपालीको अलग पहिचान स्थापना गर्न लामो समयदेखि एनआरएनए युके र सिएनएस युकेले संयुक्त रुपमा विभिन्न कार्य गर्दै आएको उल्लेख गर्दै न्यूजलेटरमा बेलायतमा हुन लागिरहेको जनगणनालाई अवसरका रुपमा उपयोग गर्न अपील गरिएको छ ।

नेपाली संघसंस्थाहरुलाई प्रचारात्मक चेतनामूलक कार्य गर्न, आफ्ना छरछिमेक, टोलछिमेकमा जनगणनाको फाराम भर्न नसक्नेहरुलाई सहयोग गर्न पनि बेलायतका विभिन्न नेपाली संघसंस्थाहरुलाई अपील गरिएको छ । त्यसैगरी यहाँ रहेका नेपाली संघसमुदायहरुले पनि जनगणनामा अधिकदम नेपालीहरुको सहभागिता गराउनको निम्ती विभिन्न समितिहरुनै गठन गरेर अभियान चलाइरहेका छन् ।