अष्ट्रेलियाका नेपाली सञ्चारकर्मी कार्की मृत भेटिए

सिड्नी । अष्ट्रेलियाका नेपाली सञ्चारकर्मी टीका कार्की मृत भेटिएका छन् । विगत दुई दशकदेखि अष्ट्रेलिया स्थित रेडियो हिमालयन मार्फत सुसुचित गर्ने काम गरेका टीका शनिबार आफ्नो कोठमा मृत फेला परेका हुन् ।

उनका नजिकका नातेदारले उनलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि घरमै पुगेर खोज्दा अचेत भेटिएका थिए । घटनास्थल पुगेका प्रहरी र पारामेडिक्सको टोलीले उनलाई घरबाट अस्पताल पुर्याएका थिए । तर अस्पताल पुर्याउँदा उनको प्राण गइसकेको थियो ।

हिमालयन रेडियोको सञ्चालक रहेका कार्कीले सन् २००३ देखि नेपाली भाषाको कार्यक्रम चलाउँदै आएका थिए । उनलाई हृदयघात भएको आशंका गरिएको छ । कार्कीको शवलाई पोष्टमार्टमका लागि लिडकम्बस्थित शवगृहमा राखिएको छ ।

सिड्नीको डलविच हिलमा डेरा लिएर एक्लै बस्दै आएका उनको मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा पाइने भएको छ । सन् १९९६ सालमा अष्ट्रेलिया आएका कार्कीको एक श्रीमती र दुइ छोराहरु रहेका छन् । उनको शव नेपाल पठाउनको निम्ती विभिन्न विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ ।

एन्जाद्वारा दुःख व्यक्त

यसैबीच, सञ्चारकर्मी कार्कीको निधनले अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाले दुःख व्यक्त गरेको छ । एन्जाको आकस्मिक बैठकले स्व. कार्कीलाई श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण समेत गरेको छ । एन्जाले कार्कीको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।