नेप्लीज अष्ट्रेलियन एसोसियसनको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसियसन एनएएको नयाँ कार्यसमिति गठन गरिएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न गरिएको साधारण सभाले मधु पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति विस्तार गरेको हो । जसको उपाध्यक्षहरुमा निशा रामी श्रेष्ठ, डा. घनश्याम चापागाईँ, डा. बसुन्धारा भट्टराई, सूर्य भट्टराई, महासचिवमा ऋषि आचार्य, सचिवमा जवीन श्रेष्ठ, कोषाध्यक्षमा नारायण खनाल चयन भएका छन् ।

त्यसैगरी कार्यकारी सदस्यहरुमा डा. कमल खरेल, डा. सन्तोष खनाल, आनन्द पराजुली, तपस्या श्रेष्ठ चयन भएका छन् । त्यसैगरी मनऋषि धिताल, पुष्पा आचार्य, उज्जवल सुवेदीलाई कार्यकारी सदस्य तथा भरत राईलाई सदस्य पदमा मनोनयन गरिएको छ । बाँकी केही सदस्यहरुलाई भने अध्यक्षले केही समयपछि मनोनयन गर्र्ने बताइएको छ ।

नयाँ कार्यसमिति चयन गर्नको निम्ती एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यूसाउथवेल्स संयोजक देव गुरुङ, एनआरएनए संरक्षक इन्द्रा बन, संस्थाका सल्लाहकार डा. नारायण प्रधान, सल्लाहकार पदम शाक्य सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राजदूत महेश दाहालले एनएएको नयाँ कार्यसमितिलाई बधाई दिदै आगामी दिनमा नेपालीको हकहितको निम्ती निरन्तर लागि पर्न शुभकामना समेत दिए ।

एनएए अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि स्थापना गरिएको सबैभन्दा पूरानो संस्था हो । सन् १९७६मा स्थापना भएको यस संस्थाले स्थापनाकाल देखि नै अष्ट्रेलियामा रहेका नेपालीहरुको हकहितको निम्ती काम गर्दै आएको छ । यहाँ रहेका अन्य नेपाली संघसंस्थाहरुसँग समनवय तथा सहकार्य गर्ने एवं गभर्निङ्ग बडीहरुसँग पहुँच कायम गरी हकहित खोज्ने काममा कटिबद्ध हुँदै आएको छ ।

यसैवीच अष्ट्रेलियामा नेपाली संघसंस्थाहरु कार्यक्रम सञ्चालन गर्नको निम्ती सरकारले एक मिलियन डलर सहयोग गर्ने भएको छ ।

मेन्टल हेल्थ तथा सुसाइड प्रिभेन्सन सहायक मन्त्री समेत रहेका सांसद् डेविड कोलम्यानले कम्युनिटी हल निर्माणको लागि एक मिलियन डलर सहयोग गर्ने बताएका हुन् ।

एनएएसँगै गैरआवासीय नेपाली संघ एनआरएनए, पेन्चस नेपाली कम्युनिटी लगायतका संस्थाहरुलाई उक्त रकम सरकारले दिने भएको एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यूसाउथवेल्स संयोवक देव गुरुङले बताए । उनका अनुसार कम्युनिटी हल बनाउनको निम्ती जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ ।