काठमाडौँ । बेलायतबाट फैलिएको कोेरोनाभाइरसको नयाँ भेरियन्ट नेपालमा पनि फैलन थालेको आशंका गरिएको छ ।
साविकको भन्दा ७० प्रतिशत बढी संक्रामक भेरिन्ट देखिएपछि बेलायत सहित धेरै देशहरु प्रभावित बनेका छन् । बेलायतले महिनौ लामो लकडाउन समेत घोषणा गरेको छ ।
नेपालमा कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।
संक्रमण भएको ठाँउसँग ट्राभल हिस्ट्री नदेखिएको भएपनि उनीहरुको सम्पर्क नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ ।
महाशाखाका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियन्टको भाइरस पुष्टि भएको हो ।
ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको सम्पर्कमा रहेका थिए ।
नेपालमा कुन किसिमको कोरोना भाइरस हो भनेर पत्ता लगाउन परीक्षण गरिने (जीन सिक्वेन्सिङ) प्रविधि नभएकोले यसअघि गत माघमा पनि बेलायतबाट आएका नेपालीमा देखिएको भाइरस कुन किसिमको हो भनेर पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो ।
पाँच जनामध्ये ३ जनामा नयाँ ‘भेरियन्ट’को भाइरस देखिएको थियो ।






