लण्डन । बेलायत स्थित गुल्मी जिल्ला समाज यूकेले नेपालको गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङ्कोटका दृष्टिविहिन बाबुराम खराललाई आर्थिक सहयोग गरेको छ ।
जन्मजातै दृष्टिविहिन रहेका खरालको जीवनयापन सहज होस् भनेर १० औँ अन्तरराष्ट्रिय अपागं दिवसको अवसरमा संकलन गरेको नगद एक लाख रुपैया हस्तान्तरण गरिएको हो ।
लामो सयमदेखि अपाङ्गता भएका व्यक्तिहरुको कल्याणमा काम गर्दै आएको समाजले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि उक्त सहयोग गरेको हो ।
सकंलित रकम बाबुरामको घरमै पुगेर हस्तान्तरण गर्न मुकुन्द खरेलले समन्वयकारी भूमिका खेलेका थिए । अध्यक्ष टोप पल्लीले लण्डन नेपाल न्यूजसंग बोल्दै बाबूरामको जीवनयापनमा सहयोग पुर्याउने उद्धेश्यसहित उनकै घरमा पुगी सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
उक्त सहयोग रकम मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले दृष्टिविहिन खरेललाई हस्तान्तरण गरेका गुल्मीका पत्रकार सागर भण्डारीले जानकारी दिए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले विदेशमा रहेर पनि स्वेदश प्रतिको माया र सहयोग प्रशंसनीय रहेको भन्दै सहयोगी संस्था गुल्मी सेवा समाज बेलायतलाई धन्यवाद व्यक्त गरे ।
सहयोग रकम सदुपयोग गरेर कुनै सीपमूलक कार्यमा लगाउन समेत उनले आग्रह गरे । त्यस्तै सापकोटाले अपागंता भएका व्यक्तिहरुलाई राज्यको सहयोगले मात्रै नपुगेको भन्दै यी र यस्तै संस्थाको सहयोग आवश्यक रहेको बताए ।
अपागंता भएकाहरुको जीवनस्तर सहज बनाउन परिवार र समाजको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाई थियो । सहयोग रकम ग्रहण गर्दै खरेलले सहयोगी संस्था प्रति धन्यवाद व्यक्त गरे।
रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ९ का वडाध्यक्ष नरेशराज खरेल, उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपालबाट समन्वय गरेका कमलराज खरेल स्थानीय पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
विपत र गुल्मीबासीको पीडामा अभिभावकको भुमिका निर्वाह गर्दै आएको गुल्मी जिल्ला समाज यूकेले यस अगाडी पनि थुप्रै व्यक्तिलाई सहयोग गरिसकेको छ । समाजले अहिलेसम्म ४ वटा एम्बुलेन्स निशुल्क रुपमा प्रदान गरेको छ ।
आशा अपागं केन्द्र तम्घासलाई हालसम्म झण्डै ५० लाख रकम सहयोग गरेको यस संस्थाले गुल्मीका १२ वटै स्थानीय तहमा कोरोना महामारीको समयमा व्यक्तिगत सुरक्षा कवज पीपीई लगायतका अन्य स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो ।
त्यस्तै जिल्लामा हुने विभिन्न दैविप्रकोपका घटनाका पीडित र आर्थिक अभावमा रहेका परिवारलाई पनि सहयोग उपलब्ध गराउँदै आएको छ ।






