लण्डन । बेलायतमा एक १२ वर्षीया बालिकाले टिकटकविरुद्ध मुद्दा हालेकी छन् ।
बीबीसीका अनुसार अदालतले ती बालिकालाई कानुनी प्रक्रिया अघि बढाउन चाहेमा नाम गोप्य राख्न भनेकोे छ । ती बालिकाले टिकटकले बलिकाका तथ्याङ्कहरु अवैधानिकरुपमा प्रयोग गरिरहेको बताएकी छन् ।
टिकटकले बेलायत तथा युरोपेली युनियनको डाटा सुरक्षण कानुनको उल्लंघन गरिरहेको दाबी उनको छ ।
उनलाई कानुनी लडाइँका लागि बेलायतको बालबालिका आयोगकी आयुक्त आन्ने लंगफिल्डले सहयोग गरिरहेको बताइएको छ ।
उता टिकटकले भने बालबालिकाको संरक्षणका लागि कम्पनीले दह्रिलो नीति अख्तियार गरिरहेको र १३ वर्षमुनिका बालबालिकाहरुलाई टिकटकमा खाता खोल्न बन्देज लगाइएको जनाएको छ ।
बालबालिका आयुक्त लंगफिल्डले टिकटकविरुद्ध १२ वर्षीया बालिकाले दायर गरेको मुद्दाले १६ वर्षमुनिका विश्वभरका टिकटक प्रयोगकर्ताहरुलाई टिकटकमा सुरक्षित राख्न सहयोग गर्ने दाबी गरेकी छिन् ।
एक भिडियो लिंकमार्फत लण्डन हाइकोर्टलाई अनुरोध गर्दै उनले बालबालिकाका डाटाहरु डिलिट गर्नका लागि अदालतले टिकटकलाई आदेश दिएर नजिर स्थापित गर्ने अपेक्षा गरेकी छिन् ।
यसअघि बालबालिकाका डाटाहरु संकलन तथा दुरुपयोग गरेको आरोपमा सन् २०१९ मा अमेरिकाको संघीय वाणिज्य आयोगले टिकटकमाथि ५७ लाख डलर जरिमाना गरेको थियो । त्यस्तै सन् २०२० मा दक्षिण कोरियाले पनि यस्तै मुद्दामा टिकटकमाथि जरिमाना गरेको छ ।
Photo-GettyImages






