बेलायतबाट नेपाल जान प्रतिबन्ध

लण्डन । नेपाल सरकारले बेलायतबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीको बैठकले बेलायतमा कोरोनाको नयाँ स्वरुपको संक्रमण देखिएको भन्दै बेलायतबाट नेपाल जान रोक लगाउने निर्णय गरेको हो ।

बेलायतबाट यात्रा प्रस्थान गरि नेपाल आउने यात्रु र बेलायतमा ट्रान्जिट भइ नेपाल आउने यात्रुलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताए ।

त्यस्तै यूकेबाट नेपाल आउनका लागि भिषा जारी नगर्ने र नेपालमा प्रवेशाज्ञा रोक लगाउने निर्णय भएको छ । यस्तै बुधबारसम्म ट्रान्जिटमा रहेका नागरिकलाई नेपाल गएपछि १० दिनसम्म होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

अर्को सूचना नभएसम्मका लागि यो रोक लागू रहनेछ । लण्डनस्थित नेपाली दूतावासले पनि बेलायतबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरेको छ ।

यूकेमा कोरोनाभाइरसको स्वरूप परिवर्तन भएर संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालसहित विश्वका धेरै देशहरुले उडान बन्द गरेका छन् ।