लण्डन । बेलायतमा यूरोपका विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएसँगै प्रधानमन्त्री बोरिस जोन्सनले आपतकालीन बैठक बोलाएका छन् ।
फ्रान्सले आफ्नो देशमा यात्रा प्रतिबन्ध लगाएसँगै प्रधानमन्त्री जोन्सनले भावी रणनीति तय गर्न मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । फ्रान्सले यात्रा प्रतिबन्धसँगै डोभर नाकालाई कम्तीमा दुई दिन बन्द गर्ने भएपछि सामान बोक्ने कन्टेनरहरु समेत आउन नपाउने भएका छन् । जसका कारण यूकेमा व्यापारीहरुले खाद्यान्नको अभाव हुन थालेको बताउन थालेका छन् ।
कन्टेनरहरु यूके आउन पाएपनि चाडपर्वको बेला यूके बाहिर जान नपाउने भएपछि उनीहरु लरी चालकहरु नै आउन नमान्ने देखिएको हो ।
जर्मनी, आयरल्याण्ड, इट्ली, नेदरल्याण्ड, बेल्जियम, अष्ट्रिया, डेनमार्क र बल्गरीया लगायतका देशले यात्रा बन्द गरेसँगै फ्रान्सले पनि आवातजावत बन्द गर्ने भनेको हो ।
बेलायतमा हाल देखिएको कोरोनाकोे नयाँ स्वरुप अहिलेसम्म देखिएको भन्दा ७० प्रतिशत बढी हानिकारक भएको बताइएको छ।
फ्रान्सले यात्रा प्रतिबन्ध गरेसँगै यूकेको खाद्यान्न आयातमा ठूलो समस्या हुने संकेत देखिएको स्थानीय पत्रिका द मेट्रोले जनाएको छ।






