काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ ।
मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्र अन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताउनुभयो । उहाँले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिनुभयो ।
कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप शुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेको छन् ।
उहाँले खोप ल्याउनका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो । विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन्। ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै रहेको छ । नेपालमा शुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ ।






