काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा रक्षामन्त्री फेङ्हो १२ घण्टाका लागि नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आइतबार साँझ नै फर्कनेछन् ।
भारतीय रक्षा सचिव नेपाल आउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्रीको निमन्त्रणमा चिनियाँ रक्षामन्त्रीको भ्रमण तय भएको हो । भारतको चीनसँगको सीमा विवादकै कारण चिसोपना भइरहेका बेला नेपालमा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ ।
खास गरी चीनले भारतसँगको सीमा विवादमा मात्रै होइन, नेपालसँगको सीमाबाट विदेशी घुसपेठमा चीन सतर्क रहेको संकेत दिन पनि उनी आउन लागेका हुन् । चिनियाँ रक्षामन्त्री फेङ्होले सीमा सुरक्षाको विषयमा विशेष चासोका साथ आफ्नो कुरा राख्नेछन् । साथै चिनियाँ र नेपाली सेनाको संयुक्त सैन्य अभ्यासको विषयमा प्रधानसेनापतिसँग छलफल गर्नेछन् ।
दुई दिनअघि मात्रै दक्षिण छिमेकी भारतका विदेश सचिव हर्षवद्र्धन शृंगला दुई दिने औपचारिक भ्रमण पूरा गरेर फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् । भारतीय ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलपछि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको दुई दिने नेपाल भ्रमणपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो ।
चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि चिनियाँ रक्षामन्त्रीको भ्रमणको मिति तय भएको हो । चिनियाँ रक्षामन्त्री फेङ्हो नेपालमा १२ घण्टा बिताएर बंगलादेश र त्यसपछि पाकिस्तान जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्री फेङ्होले काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको कार्यक्रममा सहभागिता जनाउनेछन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिने नेपाल भ्रमण गरेपछि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको थिएन । चीनबाट विरलै मात्रामा हुने उच्च तहको नेताको भ्रमण चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि दोस्रो हो । चीनबाट हुने यो खालको भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने परराष्ट्रविद्को भनाइ छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रक्षामन्त्री वेई २१ सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्नेछन् । एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।






