लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको साधारणसभा नोभेम्बर २९ तारिख आइतबार हुने भएको छ ।
‘जुम’ मार्फत महासंघका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बुधबार साँझ बसेको कार्यसमितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैठकले उपाध्यक्ष विमला सेनेलाई साधारणसभा तयारीको संयोजन गर्ने जिम्मा दिइएको छ ।भने सचिव डा. जगन कार्कीलाई एफएनजे यूकेले प्रदान गर्ने घोषणा गरेको पत्रकारिता पुरस्कारको कार्यविधिसम्बन्धी प्रस्ताव तयार गरी साधारणसभामा पेश गर्ने जिम्मा दिएको छ ।
यसै गरि बैठकले नेप्लिज डक्टर्स एशोसिएसन यूके, नेप्लिज नर्सिङ एशोसिएसन यूके र एनआरएनए यूकेसँगको सहकार्यमा ‘स्वास्थ्य संवाद’ सचेतना कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले बुझाएको सुझाव प्रतिवेदन पनि साधारणसभामा प्रस्तुत गरिनेछ ।
नोभेम्बर पहिलो सातादेखि तीन महिनासम्म साप्ताहिक रुपमा संचालन हुने कार्यक्रमको संयोजन गर्ने जिम्मा संस्थाका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याललाई दिइएको छ । अर्याल संयोजक रहेको समितिको सल्लाहकारमा एफएनजे यूके सल्लाहकार भगिरथ योगीलाई राखिएको छ भने सदस्यमा उपाध्यक्ष विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत तथा सचिवद्व्य शिव भन्डारी र जगन कार्की छन् ।
बैठकले वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई महामारीको बेला समुदायको लागि आवश्यक पर्ने अन्य पेशागत तथा व्यवसायिक परामर्श उपलब्ध गराउन छुट्टै ‘ट्रेनिङ कार्यक्रम’ गर्ने गरी संयोजक तोकिएको छ ।
नेपाल पत्रकार महासंघ यूके शाखाका महासचिव सञ्जयभक्त कंडेलले संचालन गरेको कार्यक्रममा कार्यसमितिका वरिष्ठ उपाध्यक्षद्वय ध्रुवराज अर्याल र श्याम लुइँटेल, उपाध्यक्ष विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सचिव शिव भन्डारी र जगन कार्की, सदस्यहरु जीवन सेन र बोम सुर्यवंशीका साथै सल्लाहकारद्वय भगिरथ योगी र विपिन निरौलाको पनि सहभागिता थियो ।
साधारण सभाको दोस्रो चरणमा शाखाका प्रगति तथा आर्थिक प्रतिवेदन र आगामी कार्यक्रमका बारेमा छलफल गरिने बताइएको छ ।
शाखाले सबै सदस्यहरुलाई सो साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ।






