हिन्दु सोसाइटी अष्ट्रेलियाले निकाल्यो दशैँको टीकाको साइत, जमरा पनि वितरण गरिने

तक्दीर अधिकारी

सिड्नी। नेपाली हिन्दु समाज अष्ट्रेलियाले यस बर्षको देशका विभिन्न शहरहरुमा लागू हुने गरी घटस्थापना, देवी बिसर्जन तथा विजयादशमी टीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिका अनुसार सिड्नीमा घटस्थापना गर्न विहान ७ बजेर २५ मिनेटलाई उपयुक्त मानिएको छ । त्यसैगरी देवी विसर्जन गर्ने समय ७ः३७ तथा टीकाको उत्तम साइत ९ः४३ लाई तोकिएको छ ।  त्यस्तै मेल्वर्नमा घटस्थापना, देवी विसर्जन र टीकाको शुभ साइत क्रमश विहान ७ः४१, ७ः५२ र ९ः५३ उक्तम रहेको छ । ब्रीसवेनमा ८ः२१ मा घटस्थापना, ८ः३३ मा देवी विसर्जन तथा ९ः५१ मा टीकाको साइत रहेको छ । उता एडिलेडममा विहान ८ : ०५ मा घटस्थापना, ७ः२१ मा देवी विसर्जन तथा टीकाको उत्तम साइत १०ः५७ मा रहेको छ । क्यानबेरामा घटस्थापना, देवी विसर्जन र टीकाको उत्तम मूहुर्त क्रमश ७ः३३, ७ः३४ र ९ः२७, तास्मानियामा ७ः४४, ७ः५५, ९ः२१, पर्थमा ८ः३४, ८ः०७ र १०ः ३५ उत्तम साइत तोकिएको छ । डार्विनमा घटस्थापनाको निम्ती विहान ७ बजेर १, देवी विसर्जनको ७ बजेर ३१ तथा विजयादशमीको विहान ९ बजेर ११ मिनेटमा उत्तम साइत तोकिएको समितिले जनाएको छ ।

टीकाको शुभ साइत शूरु भइसकेपछि दूर्गा भवानीको प्रसाद दिनभरी नै मान्यजनको हातबाट लगाउनको निम्ती शुभ नै रहने र साइत हेर्न आवश्वक नरहेको समेत पण्डित प्रकाश ढोडारीले बताए । त्यसैगरी टीका ग्रहण गर्दा पश्चिमा तर्फ फर्कर्नु उपयुक्त हुने उनले बताए । पण्डित ढोडारीका अनुुसार सूर्य उदय हुने समय र ज्योतिषीय गणना अनुसार साइत निर्धारण गर्ने गरिन्छ ।

सिड्नीमा जमरा वितरण गरिने
१७ गते सामुहिक रुपमा घटस्थापनाको कार्यक्रम राखिएको छ । त्यसैगरी विजयादशमीको अवसरमा टीकाको दिन समाजले जमरा वितरण गर्ने भएको छ । विहान ७ : ३० देखी ९ बजेसम्म जमरा वितरण गर्ने कार्यक्रम रहेको छ। यहाँ रहेका विभिन्न नेपाली समाज तथा समुदाय सँगको सहकार्यमा यस बर्षपनि टीका लगाएपछि आशिर्वाद सँगै शिरमा लगाइने जमरा वितरण गरिने भएको होे । अध्यक्ष प्रन्चना शर्मा रहेको नेपाली हिन्दु समाज अष्ट्रेलियाले  सन् २०१४ देखी जमरा वितरण गर्दै आइरहेको छ । यस बर्ष पनि अक्टोबर २६ गतेको दिन विहानको पुजाआजको काम सम्पन्न गरी यहाँ स्थित ८ नेपाली समुदायलाई जमरा हस्तान्तरण गरिनेछ । ती समाजलेहरुले विभिन्न शहरमा रहेका नेपालीहरुलाई जमरा प्रदान गर्ने समाजले जनाएको छ । समाजले समस्त नेपालीहरुलाई बडादशैँकोे शुभकामना दिएकोे छ ।विगतका अवसरमा धुमधामका साथ दशैँ मनाइने गरिएको भएपनि यस बर्ष भने कोभिड १९ महामारीको कारण हर्षाेउल्लास कम हुने  सम्भाबना देखिएको छ ।