तक्दीर अधिकारी
होवार्ट – नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा अस्ट्रेलियाको तास्मानियामा नेपाली कथानक चलचित्र आमा प्रदर्शन गरिने भएको छ । एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा उक्त चलचित्र प्रदर्शन हुने भएको होे । अहिलेको अवस्था जे जस्तो भएपनि यस विषम परिस्थितीबाट माथि उठनुपर्छ भन्ने सकारात्मक सन्देश दिने गरी चलचित्र प्रदर्शन गर्न लागिएको इन्टरटेनमेन्टका निर्देशक तथा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले बताए । सेप्टेम्बर २० गते स्टेट सिनेमा हलमा साँझ ६ बजे चलचित्र शुरु हुने छ । हलमा २ सय जनाको सिट रहने छ जहाँ सामाजिक दूरी कायम गरी ५० जना मात्र राखिनेछ । सिटको अग्रिम बुकिङ्ग गर्नेको लर्काे लागेको अधिकारीले बताए । “हामीले यस चलचित्र प्रदर्शन गरी दशैमा आमाको हातको टीका लगाउन नपाएपनि त्यस खालको अनुभूति दिलाउन चाहान्छौँ, त्यसले परिस्थिती सँग जुध्न उर्जा पनि मिल्ने विश्वास लिएका छौँ।” अधिकारीले भने ।हाल कोरोना महामारीको कारण सिनेमा जगत पनि ठप्प अवस्थामा रहेको समयमा निराश भएका दर्शकलाई यसले सकारात्मक बल प्रदान गर्ने अधिकारीले जानकारी दिए ।
दिपेन्द्र के खनालको निर्देशन रहेको उक्त चलचित्रको निर्माता शर्मिला पाण्डे हुन भने सहनिर्माता सन्तोष अधिकारी हुन् । आमाले नेपाली समुदायमा आमाले गर्ने संघर्ष देखाइएको छ । जसमा एक बिरामी बाबूको उपचार गर्न पैसाको अभाव हुँदा छोरीले निभाएको भूमिका र छोराले जिम्मेवारीबाट भाग्न खोजेको विषय देखिन्छ । अन्तिममा पिताको निधनमा छोरीले नै किरिया गर्छिन । यो चलचित्रमा अभिनेत्री मिथिला शर्मा शीर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोेरीको भुमिकामा छिन् । त्यस्तै सरिता गिरी पनि चलचित्रमा प्रमुख पात्र छिन् ।






