लण्डन ।
कोरोना भाइरस संक्रमितहलाइ अस्पतालमा ठाँउ अभाव भएको खण्डमा वा विरामीले चाहेको खण्डमा होम आइसोलेसनमा राख्ने गरिएको छ । पछिल्लो समय भने संक्रमितहरु बढीरहेको कारण होम आइसोलेसनमै बस्न आग्रह गरिएको छ । यसै सन्दर्भमा इङ्गल्यान्डमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने त्यहाँको सरकारले बताएको छ। बीबीसीले लेखे अनुसार इङ्गल्यान्डले नया नियम जारी गर्दै कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेशनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धहरू कडा पार्दै गर्दा यी नियमहरू लागु गर्न लागिएको बताएका छन्।
शनिवारमात्रै इङ्गल्यान्डमा कोभिड १९ का ४ हजार ४२२ नयाँ बिरामीहरू थपिएका छन् र सङ्क्रमित २७ जनाको मृत्यु भएको छ। जरिबाना सुरुमा १,००० पाउण्ड हुनेछ भने दोहोर्याएर नियम तोड्ने र “एकदमै नराम्ररी नियम तोड्ने”लाई १०,००० पाउण्डसम्म हुन सक्नेछ। त्यहाँ अहिलेसम्म सेल्फ आइसोलेशनमा बस्ने सुझाव केवल निर्देशनका रूपमा मात्रै दिइएको थियो। इङ्ग्ल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भनेको सबैले नियमको पालना गर्नुभएको बताए। “त्यसैले यी नियम मान्न कति महत्त्वपूर्ण छ भन्ने विषयलाई कसैले पनि कम आँक्न हुँदैन, नयाँ नियमहरूको अर्थ तपाईँलाई न्याश्नल हेल्थ सर्भिस एनएचएसले परीक्षण वा सङ्क्रमितको निकट रहेको भनेको छ भने तपाईँ नियम मान्न कानुनी रूपमा बाँधिनु भएको छ भन्ने हो।” यो नियम २८ सेप्टेम्बर बाट लागू हुने र नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिबानाको सामना गर्नुपर्ने पनि उनले बताए।
धेरै जरिबाना तिर्नुपर्नेमा आइसोलेशनमा बस्न रोक्ने रोजगारदाताहरू पनि पर्छन्। कम जोखिम रहेका राष्ट्रको सूचीमा नरहेका देशबाट यूके फर्किनेहरू १४ दिन क्वारन्टीनमा बसेको नपाइए उनीहरूमाथि पनि कानुनी कारबाही हुनेछ। अहिलेको नियमहरू धेरैजसो तोडिने गरेको र प्रभावकारी कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री जोनसन चिन्तित छन्। अहिले पाँचमध्ये चारजनाले सेल्फ आइसोलेशनमा बस्ने नियम तोड्ने गरेको बताएका छन्। हाल इङ्गल्यान्डमा मात्रै लागु नयाँ नियमहरू वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा पनि लगाइने यूके सरकारको आशा छ। यी तीनवटा देशसँग कोरोनाभाइरससम्बन्धी आफ्नै नियमहरू लागु गर्ने अधिकार रहेको छ। सेल्फ आइसोलेशनमा बस्न भनिएकाहरू एनएचएसको परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा निरन्तर रहनुपर्ने अधिकारीहरूले बताएका छन्। प्रहरीले पनि कोभिड १९ का हटस्पट र उच्च जोखिम रहेका समूहहरूमा निरन्तर नियमको पालना भए नभएको जाँच गर्नुपर्ने बीबीसीले जनाएको छ ।






