काठमाण्डौ ।
कोरोना भाइरस विरुद्धको खोप परिक्षण गरी आधिकारीक मान्यता दिइ प्रयोग समेत शुरु गरीसकेको रुसले खोपको बृहत उत्पादन शुरु गरेको छ ।
त्यहाको स्वास्थ्य मन्त्रालयले यसको उत्पादन शुरु भएको जानकारी दिदै यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने जानकारी दिएको छ ।
द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखाएको छ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका थिए।
विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ। रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो।
दुई दिनअघि रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताहरूलाई “एकदमै आधारहीन“ भनेको थियो।
गत मङ्गलवार रुसी नियामकले देशमै विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको जनाएको थियो।
ठूलो स्तरमा मानिसहरूमा परीक्षण गर्न बाँकी भए पनि रुसले उक्त खोपको प्रयोगलाई स्वीकृति दिएको बताइएको छ।
रुसले बनाएको खोपलाई लिएर खासगरी अमेरिका र युरोपमा प्रश्नहरू उठिरहेका छन्।
यद्यपि केही देशले त्यसप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले स्वयंले रुसी खोपको परीक्षण गर्ने बताएका छन् भने इजरेलले उत्पादन भएमा खरिदका लागि सम्झौता गर्ने जनाइसकेको बिबिसीले जनाएको छ।






