जनजाति महासंघको अन्तर्राष्ट्रिय तदर्थ समिति गठन-यूकेबाट खुशी लिम्बू

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन गरिएको छ । महासंघको विदेश शाखाहरुको बैठकले सो तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।  बैठकमा १३ देशका अध्यक्षसहित २५ देशका प्रतिनिधिहरुको सहभागिता थियो । बैठकले मानबहादुर रानामगर (अमेरिका)को संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

सो समितिको सहसंयोजकमा किसन राई (हङकङ), खुशी लिम्बू (बेलायत), सदस्यसचिवमा शिव भुजेल (कतार) र सदस्यहरुमा युगेल तेन्डुप शेर्पा (दक्षिण कोरिया), रश्मी थापामगर (क्यानडा), मणी थेवे (अष्ट्रिया), हेम गुरुङ (पोर्चुगल), विनोद पोमो (अमेरिका), सदर्शन थापामगर (अष्ट्रेलिया), कुमार बलामी (युएई) छन् । प्रत्येक देशबाट एक पदेन सदस्य राखिने जारी विज्ञप्तिमा जनाइएको छ । सन् २०१९ अक्टोबर १८–१९ का दिन प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो ।

सो सम्मेलनले जारी गरेको घोषणापत्रको बुँदा ९ मा ‘विश्वभर रहेका नेपाली आदिवासी, जनजातिहरुलाई सांगठानिक रुपमा जोड्न जोडिन आवश्यक विधि, पद्धति र प्रक्रिया अवलम्बन गर्दै समयसापेक्ष विधान संशोधन गरेर आवश्यक अन्तर्राष्ट्रिय सञ्जाल बनाइने छ । सम्मेलनबाट नेफिनका विदेश विभाग इञ्चार्जको संयोजकत्वमा विभिन्न देश सम्मिलित समितिले अन्तर्राष्ट्रिय सञ्जाल अघि बढाउने विषयमा छ महिनाभित्र कार्यसम्पादन गरेर कार्य गर्नेछ’ रहेको छ ।

सोही अवसरमा उक्त सम्मेलनमा सहभागी विभिन्न देशका नेपाली आदिवासी जनजाति प्रतिनिधिहरुको बैठकमा ‘यदि छ महिनाभित्र कुनै कारणवश विधान संशोधन नभए विदेशस्थित महासंघहरुले स्वविवेकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को गठन गर्न सक्नेछ’ निर्णय भएको थियो । सोही निर्णयलाई मुर्तरुप दिनका लागि अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन गरिएको हो ।