सिड्नीमा होली मेला भव्यताका साथ सम्पन्न

तक्दीर अधिकारी
सिड्नी । गत मार्च ८ मा आयोजना गरिएको होली मेला सिड्नीमा भव्यताका साथ सम्पन्न भयो । सिड्नीका चर्चित इभेन्ट आयोजक नेप्लिज स्क्वाट इन्टरटेन्मेन्ट र कमेरो इभेन्टले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सिड्नी वरपरका नेपाली समुदायका युवायुवतीको उत्साहजनक सहभागिता देखिन्थ्यो ।

कार्यक्रममा रौनकता थप्नका लागि नेपालबाट कलाकारहरु आएका थिए भने होलीलाई सांगीतिक माहोल दिन सुशान्त केसी, तृष्णा गुरुङ, अल्मोडा, मरिष्का पोखरेल, एलिसा शर्मा, स्थानीय डिजे बिरक, सुशील, नटकेश, प्रनेस, प्यब्लो र यानोनलगायतको प्रस्तुतिले भरपूर मनोरन्जन प्रदान गरे ।

कार्यक्रम अपरान्ह ४ बजेबाट सुरु भएको कार्यक्रम राति ९ बजेसम्म चलेको होली मेलालाई मौसमले पनि साथ दिएको थियो । कार्यक्रममा सहभागी हुन पुगेका कास्की समाजका अध्यक्ष राजकुमार अधिकारीले कार्यक्रम उत्साहजनक भएको बताए । यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुशी लागेको बताए । यस्तै कास्की समाजका महासचिव समित केसीले कार्यक्रम अत्यान्तै सौहार्दपूर्ण वातावरणमा आयोजना भएको बताए । उत्साहजनक उपस्थितिले हाम्रो संस्कृति सम्बद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रम आयोजकमध्येका एक कमेरो इभेन्टका शितल खाँणले मेलामा सहभागिताले आफूहरुलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । विगतमा भन्दा यसपटक उपस्थितिमा कुनै कमी नभएको उनले बताए । नेप्लिज स्क्वाट इन्टरटेन्मेन्टका गगन शर्माले विगतमा जस्तै यसपटक पनि उत्साहजनक सहभागिता भएको बताए । उनले भने, सहभागीबाट हामीले राम्रो प्रतिक्रिया पाएका छौं, यसले हामीलाई कार्यक्रम आयोजना गर्न थप प्रेरणा मिलेको छ ।

कार्यक्रममा विभिन्न खानाको स्टल राखिनुका साथै इजुकेशन कन्सल्टेन्सीका प्रवद्र्धनात्मक कार्यक्रम भएका थिए । सिड्नी वरपर रहेका नेपाली समुदायका युवायुवतीले होली मेलाबाट भरपूर मनोरञ्जन लिएका थिए ।