लन्डन । रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको अवसरमा शुक्रबार सांझ लन्डनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रम गरेको छ ।
यस अघि रसमोर काउन्सिल भवन फार्नबोरोमा आयोजित विशेष समारोहमा रसमोर मेयर काउन्सिलर सु कार्टर र गोर्खा नगरपालिका मेयर राजनराज पन्तले एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि यो सम्बन्धले औपचारिकता पाएको हो । ग्रेटर रश्मोर नेपालीको पहल र नेपाली दूतावास समेतको समन्वयमा रश्मोर र गोरखा नगरपालिकाबीच यो सम्बन्ध जोडिएको हो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले अतिथीहरुको स्वागत गर्दै ऐतिहासिक भगिनी सम्बन्धले दुई देशका जनताबीचको घनिष्ट सम्बन्ध हुने विश्वास व्यक्त गर्नु भयो ।बेलायत नेपाल सम्बन्ध अभिवृद्धि संगै ‘भ्रमण वर्ष २०२०’ अभियानमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने समेत राजदूत डा.सुवेदीले बताउनु भयो ।
कार्यक्रममा राजदूत सुबेदीले अतिथीहरुलाई मायाको चिनो र भ्रमण वर्ष प्रवर्धनात्मक सामाग्री राखिएको ब्याग समेत प्रदान गर्नु भएको थियो । 
सो अवसरमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोर्खाहरुका कारण बेलायत नेपाल सम्बन्ध प्रगाढ र आत्मीय बनेको आडमा रसमोरसंग भगिनी सम्बन्ध गांस्न पाएकामा कृतज्ञता व्यक्त गर्नु भयो ।मेयर पन्तले ‘भिजिट गोर्खा’ अभियानबारे जानकारी दिंदै ऐतिहासिक, सांस्कृतिक धरोहर र सम्पदा भएको ऐतिहासिक जिल्ला गोर्खामा स्वागत
गर्ने अवसर प्रदान गरिदिन बेलायतवासी नेपाली र बेलायती समक्ष अपिल गर्नु भयो ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरनले सञ्चालन गरेको उक्त कार्यक्रममा रसमोर बरो काउन्सिलका डिष्ट्रिक्ट चियर काउन्सिलर डेभिड क्लिफोर्डले दूतावासमा आफूहरुलाई सधैं न्यानो आतिथ्य मिल्ने बताउंदै रसमोर बरोमा नेपाली समुदायको कल्याण र हितका लागि काउन्सिल कटिवद्ध रहेको धारणा राख्नु भयो ।
डेपुटी मेयर काउन्सिलर फ्रयांक रोष्टले भगिनी सम्बन्ध स्थापनाले दुई देशबीचको नाता अझ आत्मीय बनेको बताउदै रसमोर बरोमा रहेको नेपाली समुदायले पनि आफूहरुलाई ठूलो योगदान गरेको स्मरण गराउनु भयो।
कार्यक्रममा गोरखाकी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठले ‘पावर पोइन्ट’ मार्फत गोरखा जिल्लाको भौगोलिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सौन्दर्यबारे प्रकास पार्नु भएको थियो।
उक्त समारोहमा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा,ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासे लगायत बेलायत र नेपालका विशिष्ठ व्यक्तित्वहरु एबम जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायका अधिकारी हरु समेतको को उपस्थिति थियो।
नेपाली तथा विदेशीहरु सहभागी उक्त कार्यक्रमको अन्त्यमा नेपाली कलाकार हरुले नृत्य प्रस्तुत गरे संगै बेलायत र नेपालका अतिथीहरु पनि नेपाली मौलिक नृत्यमा रमाएका थिए ।






