पोखरामा अवैध धन्दा चलाइरहेकी एक अमेरिकी महिलाको खुलासा

पोखरा । नेपाल पर्यटकीय देश । अझ अहिले त पर्यटन वर्ष नै मनाइरहेको छ देशले । विश्वभरिका पर्यटक नेपाल घुम्न आउँछन् । हामी अतिथिलाई देवता समान मान्छौं । तर सबै अतिथि देवता नहुन पनि सक्छन् । सेतो छाला र कैलो कपाल भएको मान्छे देख्ने बित्तिकै पर्यटकको रुपमा सम्मान गर्ने चलन छ हामीसँग । तर कैयौं विदेशी नागरिक नेपाल घुम्न हैन नेपालीलाई झुक्कयायर,ठगेर आफु मालामाल बन्न नेपाल आउने गर्दा रहेछन् । देशको पर्यटकीय राजधानी पोखरामा अवैध धन्दा चलाइरहेकी एक अमेरिकी महिलाको खुलासा भएको छ ।

नेपाल आउने विदेशी नागरिकको उदेश्य अनुरुप अध्यागमन विभागले फरक फरक भिसाको व्यवस्था गरेको छ । जुन भिसामा नेपाल छिरेको हो त्यही अनुरुपको काम गर्नु पर्छ विदेशी नागरिकले । तर छ वर्ष देखि पोखरा बस्दै आएकी एक विदेशी महिलाले नेपाल र नेपालीको दुख विश्वमा बेचेर अबैध ढंगबाट पैसा कमाएको खुलेको छ । व्यापार भिसा लिएर कथित सामाजिक सेवाको नाममा रकम उठाएकी ती विदेशी महिला को हुन् र कुन देशकी हुन् अनि कसरि नेपाललाई कमाइखाने भाँडो बनाएकी छन् ?

हो मिसेल को मिसन अर्कै रहेछ नेपाल आउनुको । छ वर्ष देखि पोखरामा उनले आफ्नो कमाउधन्दा चलाएकी छन् । पोखराको लेकसाइडमा धेरैले मिसेललाइ चिन्छन् । उनको यो कर्तुत सार्वजनिक नहुँदा सम्म धेरैले मिसेललाई समाजसेवीको रुपमा सम्मान पनि गर्थे । र धेरैलाई थाहा थिएन उनि व्यापार भिसामा नेपाल बसेकी हुन् भनेर ।

अमेरिकी नागरिक मिसेल अलेक्जेंद्रा पोखरामा परिचित नाम हो । जसले पोखराको न्युरोडमा लर्निङ हाउस नामक संस्था संचालन गरेकी छन् । अमेरिकाको कोलोराडोमा मिसेलकै अर्को संस्था पनि छ जसको नाम हो खाता लाइफ । लर्निङ्ग हाउसलाई देखाएर खाता लाइफको लागि रकम जम्मा गर्ने मिसेलको मिसन हो । यसको लागि उनले सामाजिक काम गरेजस्तो गरि चन्दा उठाउछिंन् र, उक्त रकम सिधै खाता लाइफको अमेरिकामा रहेको बैंक खातामा जम्मा गर्छिन् । नियम कानून नबुझेर हो या दाताहरुलाई विश्वासमा लिन हो, उनले आफ्नो ट्वीटरमा समेत उल्लेख गरेकी छन् यो कुरा । यत्ति मात्र हैन चार सय भन्दा बढी महिलाको गोप्य फेसबुक ग्रुप उमन वन्ली बनाएर सरकारी अनुमति बेगर पूल पार्टी, डान्स पार्टी जस्ता कार्यक्रम गरि बिना बिल आर्थिक कारोबार समेत गर्छिन् उनले ।

हो छ बर्ष सम्म नखुलेको मिसेल मिसनको अहिले आएर खुलासा भएको छ । येत्ति मात्र हैन अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय , अख्तियार दुरुपयोग अनुशन्धान आयोग र जिल्ला प्रहरी कार्यालय कास्कीमा मिसेल बिरुद्ध उजुरी समेत परिसकेको छ ।

आफुले भिसा दिएको विदेशी नागरिक फर्कियो कि फर्केन, जुन भिसा हो त्यही अनुरुप बसेको छ कि अन्य गतिबिधि गर्दै छ, त्यो हेर्नु पर्ने जिम्मा अध्यागमन विभागको हो । तर छ वर्ष सम्म मिसेलको मिसन बारे कुनै पनि सरकारी निकायले सुइँको समेत पाएको छैन । जुन लज्जाजनक विषय हो । अहिले आएर कसैले उजुरी दिएपछि मात्र प्रशासनले थाहा पायो । तर जुन रुपमा कारवाही प्रक्रिया अगाडी बढ्नुपर्ने हो त्यो अझै हुन सकेको छैन ।

प्रहरी भन्छ अनुशन्धानमा छौं, सिडियो भन्छन् ठगिए भनेर निवेदन आए सजिलो हुने थियो, अध्यागमन पोखरा भन्छ केन्द्रको काम हो । यी सबै जवाफ सुन्दा लाग्छ प्रसाशनलाई मिसेल मिशनको चिसोले खासै छोएको छैन । उता देश विदेशबाट अहिले सम्म छ करोड भन्दा बढी रकम उठाइसकेकी छन् मिसेलले । यदि उनको समाज सेवाले पोखरामा कुनै सकारात्मक परिवर्तन भएको भए त सामान्य नजरमा ठिकै हो भन्न मिल्थ्यो होला । तर त्यस्तो पनि छैन । त्यसमा पनि उनको भिसाको प्रकृति र काम नै मिलिरहेको छैन । यसबारे प्रशाशनको अबको कदम के हुनेछ त्यो केहि दिनमा थाहा होला । तर पर्यटकको भेषमा हामीकहाँ गैर कानूनी काम त भइरहेको छैन, भन्ने गम्भीर प्रश्न उब्जाएको छ यो घटनाले । जसतर्फ नियमन गर्ने निकायको ध्यान पुग्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *