प्रा डा केसीको मागबारे सहमति नजिक

काठमाडौं, १८ चैत्र । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै दश दिनदेखि अनशनरत त्रिवि शिक्षण अस्पताल हाडजोर्नी विभागमा कार्यरत प्रा डा गोविन्द केसीका मागबारे सरकारी प्रतिनिधि र डा केसीको टोली सहमतिको अत्यन्त नजिक पुगेका छन् । वार्ता अत्यन्त सकारात्मक भएको र सहमतिको नजिक पुगेको तथा बुधबार बसेर टुङ्ग्याउने सहमति भएको सरकारी वार्ता टोलीका सहयोगी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले बताउनुभयो । मंगलबार राति अबेरसम्म त्रिवि शिक्षण अस्पतालमा भएको वार्तामा सरकारका तर्पबाट मुख्य सचिव लीलामणि पौड्याल र आयोगका उपाध्यक्ष डा पोखरेल हुनुहुन्थ्यो । सहमतिको मस्यौदा लिएर आउनुस्, अनि बुधबार बिहान बसेर टुङ्गाउँला डा केसी र उहाँको टोलीलाई उद्धृत गर्दै डा पोखरेलले भन्नुभयो ।