बेलायतको दशैंमा मनोरञ्जन दिन चर्चित प्लेब्याक गायक युवराज आउदै

लन्डन । बेलायतमा रहनुभएका नेपाली समुदायलाई यो दशैंमा मनोरञ्जन दिन प्लेब्याक गायक युवराज चौलागाईं लन्डन आउने भएका छन् । विगत डेढ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा अहोरात्र मेहनत गरिरहेका गायक चौलागाईंले चार सयभन्दा बढी गीत गाइसकेका छन् ।

‘बेलायतवासी नेपाली समुदायलाई सांगीतिक मनोरञ्जन दिन लन्डन जाँदैछु’ लन्डन नेपाल न्यूजसँग गायक चौलागाईंले भने, ‘तीन स्थानमा कार्यक्रम फिक्स भइसकेको छ, कार्यक्रम अरु स्थानमा थप हुने जानकारी गराएका छन् ।’

दशैंका बेला धेरैजसो नेपाल फर्किएका बेला तपाईं चाहिँ किन प्रवाशमा भन्ने जिज्ञासामा गायक चौलागाईंले भने, ‘सबैजना नेपाल फर्किन पाउनु भएको छैन, सबैको आ–आफ्नै बाध्यताहरु हुन्छन् । यसलाई मैले दर्शक र श्रोतासँग नजिक हुने अवसरको रुपमा लिएको छु । उहाँहरुको मायाले बोलायो, दशैमा बेलायतमा रहनु भएका नेपाली समुदायलाई गीत संगीतमार्फत् मनोरञ्जन दिन बेलायत जाँदैछु ।’

बेलायतमा कसलाई सम्झन चाहनु हुन्छ भन्ने जिज्ञासामा प्लेब्याक गायकको परिचय बनाएका चौलागाईंले भने, सबै नेपाली दाजुभाइ, दर्शक र श्रोतालाई सम्झन चाहन्छु । विशेष गरी बेलायतमा आफ्नो प्रस्तुति दिने अवसर जुटाइदिनु हुने राजु आचार्य, ललित गुरुङ र एलबीजेड गुरुङप्रति आभारी छु ।

नोभेम्बर रेनको ‘तिमीलाई के भनौं’ हवलदार सुन्तलीको ‘हारे हारे’, ‘टुङ्गनाको धुनले’ रिमेक चौलागाईंको चर्चित गीत हुन् । ‘तिम्रो माया पाउनलाई’ शीर्षकको गीत युट्युबमा झन्डै करोड दर्शक श्रोताले रुचाएका थिए ।

दर्जनौं सांगीतिक पुरस्कार पाइसकेका गायक चौलागाईका फिल्मका गीत मात्र होइन, एल्बमका गीत पनि चर्चित छन् । ‘साँझ पख’, ‘हरेक शब्दको अर्थ’ र लैजा चरी बोलको गीत नेपाली जनजिब्रोमा झुन्डिरहने गीत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *