लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वका लागि भोलि शनिबार निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति यूकेले जानकारी दिएको छ । निर्वाचनलाई सहज र निस्पक्ष ढंगले सम्पन्न गर्न बुथ केन्द्र, त्यसका प्रतिनिधि र आचारसंहिता निर्वाचन समितिले जारी गरिसकेको छ । निर्वाचनका लागि कुल १३ वटा बुथ सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिका तर्फबाट सहसंयोजक एवम प्रवक्ता शिवजी श्रेष्ठले एक सुचना जारी गर्दै बुथ र ती बुथमा खटिने निर्वाचन आयुक्तको नाम सार्वजनिक गरेका हुन् । यसअघि निर्वाचन समितिले मुख्य पदका उम्मेद्वार, संरक्षक, संघसंस्थाका प्रमुख, पत्रकारलगायतसँग छलफल गरेको थियो । उक्त अवसरमा निर्वाचनसम्बन्धी विभिन्न जनकारी गराइनुका साथ मतदान र गणना प्रक्रियासम्बन्धी विभिन्न विषयमा समझदारी निर्माणको कोशिस गरिएको थियो ।
भोलि सेप्टेम्बर १४ तारिख शनिबार बिहान ८ देखि साँझ ८ बजेसम्म मतदानको कार्यक्रम छ । सोही दिन बेलुकाबाट मातगणना सुरु गर्ने र आइतबार घोषणासभामार्फत अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
यस्तो छ संहिता
१) निर्वाचनमा भाग लिने सबै मतदाताहरुले अनिवार्य रुपमा फोटो भएको परिचय पत्र (ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा एनआरएनए युकेको परिचयपत्र आदि) ल्याउनुपर्नेछ ।
२) निर्वाचन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म तोकिएका निर्वाचन केन्द्रहरुमा हुनेछन् । सो समयभित्र निर्वाचन हलमा प्रवेश गरेका मतदाताहरुलाई मात्र मतदान गर्न दिइने छ । सो समयसीमा पछि आउने मतदातालाई मतदान गर्न दिइने छैन ।
३) मतदान गर्दा निर्वाचन समितिले तोकेको कलम मात्र प्रयोग गर्न पाइने छ । तोकिएको बाहेक अन्य रंगको कलममसीको प्रयोग भएको पाइए सो मतपत्र बदर हुनेछ । मतदानपछि मतपत्र समितिले उपलब्ध गराएको मतपेटिकामा खसाउनुपर्नेछ । मतपत्रका साथमा अरु कुनै कागज भेटिए सो मतपत्र स्वत बदर हुनेछ ।
४) उम्मेदवारको नाम नेपाली र अंग्रेजीमा वर्णमालामा तस्वीरसहित हुनेछ । उनीहरुको नामको दायाँपट्टि रहेको बाकसभित्र पर्ने गरी टिक ✅ लगाउनुपर्नेछ ।
५) मतदाताले एकपटक मात्र दिन पाउने छन् । कुनै कारणवश मतपत्र केरमेट गरे अर्को मतपत्र दिइने छैन ।
६) कुनै पनि मतदाताको परिचयमाथि शंका उत्पन्न भएमा सम्बन्धित निर्वाचन केन्द्रमा खटिएका निर्वाचन आयुक्तको निर्णय अन्तिम हुनेछ । यस्तो निर्णय गर्नुपूर्व अध्यक्षका उम्मेदवारका प्रतिनिधिहरुसित परामर्श भने गरिनेछ ।
७) मतदान गर्दा लाइनमा बसी शान्तपूर्वक मतदान गर्नुपर्नेछ । मतदान हलमा होहल्ला गर्न, मतदातासित भोट भाग्न, अरुले मतदान गरिरहेको हेर्न वा भिडियो, अडियो वा फोटोबाट रेकर्ड गर्न, मतदातालाई प्रभावित पार्ने कुनै पनि क्रियाकलाप गर्न पाइने छैन । मतदान हलभित्र कुनै पनि उम्मेदवारको पम्प्लेट, पोस्टर वा निर्वाचन प्रचारको सामग्री लैजान पाइने छैन । मतदान हल प्रवेश गरिसकेपछि फोनमा कुरा गर्न पाइने छैन । मतपत्र प्राप्त गरिसकेपछि मतपत्र नबुझाई हल छोड्न पाइने छैन । मतदान गरेपछि शान्तपूर्वक हलबाट बाहिर निस्कनुपर्ने छ ।
८) यदि कुनैपनि व्यक्तिले मतदान केन्द्र वरपर होहल्ला वा अभद्र ब्यबहार गरेमा निर्वाचन आयुक्त वा निर्वाचन अधिकृतले निजलाई बाहिर निकाल्न सक्नेछ ।
९ ) मतदानस्थलमा उम्मेदवार, अध्यक्षका उम्मेदवारको तीन जना प्रतिनिधि, पर्यवेक्षक, निर्वाचन समिति र स्वयंसेवकबाहेक अन्यलाई आवतजावत गर्न वा बस्न दिइने छैन ।
१०) मतदान हलमा चुनावी प्रसारप्रसार गर्न, पोस्टर पम्प्लेट टाँस्न, प्रचारात्मक सामग्री लगाउन निषेध गरिएको छ ।
११) मतदान केन्द्र भित्र फोन, ग्याजेट लैजान पाउने छैन, त्यसैगरी कुनैपनि किसिमको नमुना मतपत्र वा कागज लगि मतपत्रमा उतार गर्न पाइने छैन ।
१२) शारीरिक रुपमा अशक्त, अपाङ्ग वा आँखा नदेख्ने अन्धा मतदाताको हकमा बाहेक अन्य मतदाता स्वयमले नै मतदान गर्नु पर्नेछ । अपाङ्ग र अन्धाको हकमा मात्रै अबस्था हेरि निर्वाचन आयुक्तले निज मतदाताले भनेको उम्मेदवारको चिन्ह लगाई सहयोग गर्न सक्नेछ ।
१३) निर्वाचनसम्बन्धी कुनै विवाद आएमा निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुनेछ ।






