लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आउँदो शनिबार अर्थात् १४ सेप्टेम्बरमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका प्रत्यासी शेरबहादुर सुनार यतिबेला मतदाताको घरदैलोमा व्यस्त भएको देखिन्छा । मिडल्यान्ड स्थित आफ्ना मतदाताले दिएको आश्वासनबाट आफु उत्साहित भएको भन्दै अध्यक्ष पदका प्रत्यासी सुनारले मिडल्यान्डवासीलाई गरेको सम्बोधन जस्ताको त्यस्तै : तस्बिर सहित










मिडल्यान्ड स्थित आफ्ना मतदाताले दिएको आश्वासनबाट सुनार उत्साहित भएको भन्दै अध्यक्ष पदका प्रत्यासी सुनारले मिडल्यान्डवासीलाई गरेको सम्बोधन जस्ताको त्यस्तै :
आदरणीय मिडल्याण्डवासी मित्रहरू, विगत केही दिन मेरो चुनाबी अभियान मिडल्याण्डमा केन्द्रित रह्यो । तपाईंहरूले देखाउनुभएको हार्दिकता, आत्मीयता र खुलापनका निम्ति आत्मैदेखि आभारी छु । तपाईंहरू लाई थाहा भएकै कुरा हो, सिङ्गो मिडल्याण्ड शेर बहादुर सुनारको विपक्षमा छ भनेर गरिएका ‘डिल’का कुरा आए ।
शेरबहादुर सुनारले सिङ्गो मिडल्याण्डबाट कत्ति पनि भोट पाउँदैन भन्ने बजार हल्लाहरू आए । नियोजित रूपमा म र मिडल्याण्डबीच तिक्तता र दूरी पैदा गर्ने अभ्यासहरू भए । सबैको साझा भनेर खुलेका सामाजिक संस्थाले समेत कुनै एक व्यक्तिको विपक्षमा भोट माग्ने जस्ता नमिठा कुराहरू सुनिए । जानेर या नजानेर, यस्तो माहोल बनाउन खोजियो कि भोलि मैले चुनाब जितेर अध्यक्ष बन्दै गर्दासमेत मलाई मिडल्याण्डको कुनै भोट आएन भन्ने भाव मेरो मनमा रहिरहोस् र मिडल्याण्ड मेरो प्राथमिकतामा कहिल्यै नपरोस् । चुनाब हो, म पराजित हुन पनि सक्छु । तर यसको दोष जति सिङ्गो मिडल्याण्डलाई जाने गरी यो माहोल बनेको थियो । जम्मा केही माइल पर बस्ने जति सबैले मलाई हराउन खोजेका थिए भन्ने मलाई लागिरहोस् र म आजीवन मिडल्याण्डप्रति निगेटिभ बनिरहूँ । म र मिडल्याण्ड फ़रक कित्ताका हौं भनेर हामीबीच भित्ता ठड्याउने प्रयास भए । यस्तो प्रयास जानी जानी मिडल्याण्डवासीले गर्ने कुरो सोच्न पनि सकिन्नथ्यो । पर्दा पछाडि बस्नुहुने डिजाइनरहरूले यस्तो दृश्य बड़ो मिहिनेतपूर्वक कोरियोग्राफ गर्नुभो । यो जम्मा केही भोटको विषय थिएन । सिङ्गो मिडल्याण्डमाथि लाग्न खोजेको दागको कुरो थियो । भावनाको कुरो थियो ।
आफ्नै दाजुभाइहरू बीचको यस्तो तिक्तता र डिभिजन हटाउने कुरो मुख्य थियो । म तपाइँहरूको दुश्मन होइन, आफ्नै साथीभाइ र दुःखसुखको सहयात्री हुँ भन्ने जानकारी गराउनु मेरो दायित्व थियो । आफ्नो देश, आफ्नो आँगन र आफ्ना आमाबुबालाई उतै छोडेर हजारौं माइल टाढा सात समुद्र पारि आएका हामीले परदेशमा समेत दुई बित्ताको भूगोल बारेर यो वरको र त्यो परको भन्नु, हामी एक हौं र त्यो अर्को हो भन्नु कति सान्दर्भिक हुन्थ्यो ? हामीबीचको एकता त भावना, विचार, मुद्दा, सभ्यता र संस्कृतिको आधारमा पो हुन्छ र । एक-एक बित्ता भूगोल बाँडेर पनि एकता हुन्छ र ? एकता आफैमा सुन्दर हो तर त्यसैका नाममा बित्ताबित्तामा एकले अर्कोलाई निषेध गरेर के हासिल हुन्छ र ? हाम्रा मुद्दाहरू, एनआरएनएका उद्देश्यहरू हामी सबैका साझा हुन् र हामी सबै मिलेर त्यो लड्ने हो । एउटा चुनाबले हामीलाई तोड्न सक्दैन । हामीबीचको भ्रातृत्व, आदर र समझदारी चुनाबभन्दा माथिको हुनुपर्छ । एउटा चुनाबमा को कुन समूहमा छ भन्ने कुराले हाम्रो सम्बन्ध र भाइचारालाई प्रभाव पार्नु हुँदैन ।
म भोट माग्न मिडल्याण्ड दौड़िएको होइन । त्यहाँ धेरै साथीहरू बस्नुहुन्छ जसलाई म र मेरो विगतबारे थाहा छ । मेरो सङ्घर्षदेखि सोझोपन र निश्छल व्यवहार थाहा छ । मेरो सामाजिक योगदान धेरैलाई थाहा छ । भोट त शायद नदौड़िए पनि आउँछ । दौड़िए पनि न आउन सक्छ । तर म भोलि जित्दै गर्दा पनि मिडल्याण्डले जितोस् र म हार्दै गर्दा पनि मेरो मनमा मिडल्याण्डप्रति चिसोपन नरहोस् भनेर म त्यहाँ पुगें । हालको म उपाध्यक्ष रहेको कमिटीले एनआरएनए युकेलाई स्कटल्याण्डदेखि वेल्ससम्म पुर्यायो । राज्य समिति बनाउने जिम्मेबारी मेरा साथी ललित नेउपानेले पूरा गर्नुभो । मिडल्याण्डलाई मूलधारमा जोड्न मेरा अर्का सहकर्मी प्रेम गाहा मगरले खेलेको भूमिका यहाँहरूलाई थाहै छ । हामी सबै मिडल्याण्डका मित्र हौं, मिडल्याण्ड मात्रै होइन, एकअर्काका मित्र हौं ।
हाम्रो उद्देश्य यही स्मरण गराउनु थियो । हामी कसैको विरोध या या असन्तुष्टि पोख्न त्यहाँ आएका थिएनौं । हाम्रो कसैप्रति पनि गुनासो छैन । हामी हाम्रो उद्देश्यमा सफल भयौं । नगण्य व्यक्तिले निषेधको रेखा कोर्न खोजे पनि तपाइँहरू कसैको मनमा पनि हामीप्रति कत्ति पनि नकारात्मकता रहेनछ । भोट त व्यक्तिको स्वतन्त्रता र इच्छाको कुरो हो, त्यो दिनुहोला या नदिनुहोला, ठूलो कुरो होइन । तर जुन उत्साह, प्रेम र सद्भाव दिनुभो र हाम्रो टिमको कुरो सुन्ने अवसर दिनुभो, म र मेरो टिम त्यसप्रति ऋणी छौं । चुनाब भनेको छनोट हो र छनोटका लागि दुबै पक्षको कुरा सुन्नु आवश्यक हुन्छ । यी सबै कुराले हामीबीच एकता अझ बलियो बनेको अनुभव भएको छ । अब हामीबीच शायद कुनै असमझदारी र भिन्नताहरू बाँकी छैनन् । सबैलाई सुनिसकेपछि न्यायपूर्ण छनोट गर्ने विवेक हामी सबैसँग छँदै छ ।
बेलायतको ब्राइटनदेखि एबर्डिनसम्म जुन कुनै कुनामा छरिएर बसे पनि हामी नेपाली हौं । हाम्रा भोगाइ, समस्या र मुद्दाहरू साझा हुन् । हामी त्यसैका निम्ति लड्ने हो । एउटा बहुरङ्गी फूल-मालामा सबै फूल सबैलाई मन पर्छ भन्ने हुँदैन । तर मन परेको फूलमात्रै राखेर मात्रै माला बन्दैन । मालाको सुन्दरतामा हरेक फूलको हिस्सा हुन्छ । हरेक फूलको फ़रक फरक तर आफ्नै विशेषता हुन्छ । मेरो टिम पनि यस्तै एउटा माला हो । मलाई आशा छ, समाजका हरेक तह र तप्कालाई समावेश गर्ने मेरो मालाजस्तै प्रयासलाई तपाईंहरू सबैले अनुमोदन गर्नुहुनेछ ।






