अध्यक्ष ओली र नेता भट्टराईबीच भेटवार्ता

भक्तपुर, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा(माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईबीच बोलकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ । ओली निवासमा बुधबार राति पुग्नुभएका अध्यक्ष ओली र नेता डा भट्टराईबीच एमालेको स्थायी समिति बैठक सम्पन्न भएपछि राति अबेर भेटवार्ता भएको हो ।
करिब एकघण्टा भएको भेटवार्तामा दुई नेताबीच वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको ओली निवास स्रोतले जानकारी दिएको छ । राजनीतिक गतिरोध अन्त्य गर्ने, विवादित विषयलाई मिलाउन वैकल्पिक मार्गको खोजी गर्ने र सहमतिबाटै अगाडि बढ्ने बारेमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।